राजमार्गमा पहिरो, हवाई टिकटमा मनपरी
नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा काठमाडौं उपत्यका र अन्य विभिन्न ठाउँका बासिन्दा आ–आफ्नो थातथलो फर्किरहेका छन् । तर, पटक–पटक सडकमा पहिरो खस्दा यात्रुहरू ठूलो जोखिममा परेका छन् ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा अघिल्लो शुक्रबार यता लगातार पहिरो खसिरहेकोमा गएरातिबाट सडक सञ्चालनमा आएको छ । तर जोखिम भने यथावत छ । सडकमा यात्रुहरूको अवरोध र सुरक्षा जोखिम बढेपछि हवाई उडानमा चाप परेको हो ।
उक्त अवसरको फाइदा उठाउँदै केही हवाई सेवा प्रदायक कम्पनीले टिकटको मूल्य मनपरी तोकेका छन् । वायुसेवा सञ्चालक संघले कम मूल्यमा टिकट बिक्री गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन शून्य छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र नियमावली, २०५८ अनुसार कम्पनीहरूले अधिकतम र न्यूनतम मूल्य तोक्न पाउँछन् । तर, अधिकांश विमान कम्पनीले अधिकांश टिकट अधिकतम मूल्यमा बिक्री गरेका छन् ।
त्रिभुवन विमानस्थलबाट बुद्ध, यती र श्री एअरलाइन्सले मुलुकका विभिन्न भागमा दैनिक साढे तीन सय आन्तरिक उडान सञ्चालन गर्छन् । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले टिकटको मनपरी मूल्यलाई छाडिदिँदा यात्रु मर्कामा परेका हुन् ।
टिप्पणीहरू