बिजुलीको बक्याैता बुझाउन तीन हप्ते अल्टिमेटम

बिजुलीको बक्याैता बुझाउन तीन हप्ते अल्टिमेटम

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाउन उद्योगीहरूलाई २१ दिनको अल्टिमेटम दिएको छ । 

०८१ कात्तिक २९ गते गोरखापत्रमामा जारी सूचनाअनुसार अबको २१ दिनभित्र बक्यौता रकम बुझाउन प्रधिकरणले निर्देशन दिएको हो । कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम उठाउने प्रयास गरेकोमा तत्कालीन उर्जामन्त्री दीपक खड्काको कारण रोकिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । शाक्यले नेतृत्व सम्हालेको पाँच महिना बितिसक्दासमेत बक्यौता रकम उठाउने कुनै प्रयास भएको देखिएन ।

जेनजी प्रदर्शनपछि कुलमानले उर्जामन्त्री भएसँगै अहिले शाक्यको ठाउँमा मनोज सिल्वाल प्राधिकरणको नेतृत्व सम्हाल्न पुगेका छन् । आज स्रूचना जारी गर्दै प्राधिकरणले टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा मापन भएको बिल अनुसारको बक्यौता तिर्न उद्योगीहरुलाई निर्देशन दिएको छ ।

उद्योगीले किस्ताबन्दीमा रकम तिर्न चाहेमा पनि प्राधिकरणले २८ किस्ताको सुविधा दिने बताएको छ । यसरी पनि बक्यौता रकम तिर्न अटेर गर्ने उद्योगीमाथि कानुनबमोजिमको कारवाही हुने जानकारी गराइएको छ ।

टिप्पणीहरू