कोरोला नाका : त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि प्रवद्र्धनको ढोका

कोरोला नाका : त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि प्रवद्र्धनको ढोका

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीनको सीमाना जोड्ने कोरोला नाकाको स्तरोन्नति गर्न सरकारसँग आग्रह गरेका छन् । मुस्ताङमा अवस्थित नाकाको स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि उनले आज सरकारको ध्यानाकर्षण गराएका हुन् । 

महासंघको गण्डकी प्रदेश समितिसँग नाका निरीक्षण गर्न पुगेका उनले भने,‘कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयोग गर्न सकिन्छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।’

अध्यक्ष ढकालले उक्त नाकामा आवश्यक पर्ने पूर्वाधार अपर्याप्त रहेको बताए । उनले यथाशीघ्र आवश्यक पूर्वाधारको निर्माण गर्नुपर्ने, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउनुपर्ने, अध्यागमन सेवा सुचारु गर्नुपर्नेमा जोड दिए । 

अगाडि थपे,‘१२ दिनअघि शुरु गरिएको भन्सार कार्यालयबाट एक अर्ब ४० करोड रुपैयाँ राजश्व संकलन भएको रहेछ । यो नाका व्यवस्थित भयो भने थप राजश्व संकलन हुन्छ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा नेपाललाई झन धेरै फाइदा हुन्छ ।’

चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउन सकिन्छ । सो रुट छोटो भएकाले पर्यटक तान्न सक्नुका साथै मानसरोवर पुग्नसमेत सहज हुन्छ । कोरोला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण, बसोबास र अन्य व्यवस्थापन गर्न असहज भएमा निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्यसञ्चालन गर्न सक्ने ढकालको सुझाव छ । 

गत वर्ष मुस्ताङमा करिब सात लाख आन्तरिक तथा वाह्य पर्यटकको आगमन भएको थियो । माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरुलाई पाँच सय अमेरिकी डलर शुल्क लिइँदै आइएको छ । सो अव्यवहारिक भएको उल्लेख गर्दै ढकालले पुनःविचार गर्न सरकारसँग माग गरेका छन् ।

टिप्पणीहरू