हतियार नबुझाए सोझै हिरासत
जेन–जीको प्रदर्शन र विध्वंसमा सेनाको असफलतादेखि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले देखाएको कमजोरी स्पष्ट रूपमा उजागर भएको छ। दुई तिहाइ बहुमतसहित सत्तामा रहेका बेला केपी शर्मा ओलीकै नेतृत्वमा सुरक्षाफौजको मनोबल कस्तो स्तरसम्म गिरेको थियो भन्ने कुरा यो घटनाले देखाइदिएको छ।
सेनाले चलाएर पुराना भएका केही स्वचालित हतियार नेपाल प्रहरीसँग पनि छन्। माओवादीसँग थ्री–नट–थ्रीको भरमा लडेको प्रहरीले अहिले एसएलआर र भारतमा उत्पादित इन्साससहितका अटोमेटिक राइफल बोकेको देखिन्छ । भदौ २३ गते संसद् भवन अगाडि ग्लोबल कलेजका विद्यार्थी श्रेयम चौलागाईं टाउकोमा गोली लागेर ढलेका थिए। उनीजस्तै त्यसदिन मारिएका अधिकांशको टाउको र छातीमा गोली लागेको पाइएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार २३ भदौमा मारिएका अधिकांश आन्दोलनकारीको कम्मरभन्दा माथि टाउको र छातीमा गोली लागेको थियो। पोष्टमार्टममा संलग्न चिकित्सकहरूले कम्मरमुनि गोली लागेको भए तीमध्ये धेरैजना बाँच्ने सम्भावना रहेको बताएका छन्। शिक्षण अस्पतालमा हालसम्म पोष्टमार्टम भएका ६७ शवमध्ये अधिकांश पुरुष हुन् । सात जना भने पूर्ण रूपमा जलेकाले उनीहरूको पहिचान डिएनए परीक्षणमार्फत गर्नुपर्ने अवस्था छ । आन्दोलनमा मारिनेहरू प्रायः १६ देखि ४० वर्ष उमेर समूहका छन् ।
कसले चलायो गोली ?
२४ भदौ दिउँसो सेनाका अधिकारीमार्फत शीतल निवासमा राजीनामा पत्र पठाएर ओली बालुवाटारबाट हेलिकोप्टरमा शिवपुरीतर्फ प्रस्थान गरेका थिए। असोज २ गते उनी भक्तपुरको गुन्डुस्थित एमाले नेता महेश बस्नेतको घर नजिकै पुगेर सार्वजनिक भए। हाल उनी त्यहीँबाट राजनीतिक गतिविधि अघि बढाउने तयारीमा छन्। उनका तेह्रथुम, झापा (दमक) र भक्तपुर (बालकोट)स्थित घर भदौ २४ गते ध्वस्त पारिएका छन्।
संविधान दिवसकै दिन फेसबुकमार्फत ओलीले संवेदनशील प्रश्न उठाउँदै भनेका थिए, ‘सरकारले प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्न आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छ, यसको छानबिन हुनुपर्छ।’ उनको दाबीले घटनामा बाह्य घुसपैठ वा अन्य शक्ति संलग्न भएको आशंकालाई बल मिलेको छ।
लुटिएका हतियार, रित्तिएका ब्यारेक
आन्दोलनका क्रममा काठमाडौं उपत्यकाको सुरक्षा सम्हालेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयबाट मात्रै एक हजार ५०० थानभन्दा बढी हतियार लुटिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवम् डिआइजी विनोद घिमिरेका अनुसार लुटिएका हतियारको वास्तविक विवरण संकलन भइरहेको छ । डिएसपी दीपक रेग्मी नेतृत्वको टोलीले देशभर आगजनी र तोडफोड भएका भवनसँगै लुटिएका हतियार, गोली र बर्दीसम्बन्धी तथ्याङ्क संकलन गरिरहेको छ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयको विवरणअनुसार देशभर दुई हजार ९६४ थान हतियार र एक लाख ६८ हजार ७९८ थान गोली लुटपाट तथा आगजनी भएको छ। लुटिएका हतियारमध्ये अटोमेटिक राइफल मात्र एक हजार १९० थान छन्। तीमध्ये नेपाली सेनाबाट प्राप्त ३२३ थान एसएलआर र ३२६ थान इन्सास राइफल छन्। प्रहरीका अनुसार ३३ थान स्वचालित सर्ट–मेसिन गन (एसएमजी), २७५ थान थ्री–नट–थ्री, २१५ थान हर्नेट र ६ थान मार्कफोर राइफलसमेत बेपत्ता छन्।
यस्तै, ४५ थान म्याग्नम, ३४४ थान सर्टगन र त्यससँग सम्बन्धित ७,१७८ थान गोली लुटिएका छन्। अन्य सर्टगन ३२८ थान, फोल्डिङ÷ननफोल्डिङ सर्टगन १५ थान र १२ बोर सर्टगन १ थान समेत गायब छन्।
पेस्तोलको संख्यामा पनि डरलाग्दो मात्रामा लुटपाट भएको छ। कुल ६४७ थान पेस्तोल र १३ हजार ७०५ थान गोली हराएका छन्। लुटिएका पेस्तोलमध्ये टाइप–५४ (३३४ थान), टाइप–७७ (२८ थान), नाइन एमएम (११३ थान) र .३८ स्पेसल रिभल्भर (१७३ थान) रहेका छन्। आन्दोलनका क्रममा ६८८ थान ग्यासगन समेत लुटिएका छन्।
प्रहरीले लुटिएका हतियारमध्ये केहीलाई अन्य सूचीमा राखेको छ। यसमा मिश्रित शस्त्र ३२ थान, भरुवा बन्दुक १४ थान, सानो चापे ४ थान र ठूलो चापे ८ थान छन्। साथै, आन्दोलनका क्रममा एक थान इन्सास राइफल भाँचिएको, एक थान पेस्तोल जलेको र एक थान सर्टगनको ट्रिगर गार्ड भाँचिएको उल्लेख छ।
काठमाडौं उपत्यकामा भक्तपुरको ठिमी र कालिमाटी वृत्तबाहेक सबै युनिटका हतियार लुटिएका थिए। यद्यपि, ठूलो संख्यामा हतियार अझै फिर्ता भएको छैन।
के भन्छ कानुन ?
नेपाल प्रहरी ऐन, २०१२ अनुसार प्रहरीको प्रमुख कर्तव्य आफ्ना साथ वा जिम्मामा रहेका हतियार तथा खरखजानाको सुरक्षा गर्नु हो। यदि आक्रमणकारीलाई हतियार वा सरकारी सम्पत्ति सुम्पिएमा जन्मकैद वा १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ। ऐनको परिच्छेद ६ को दफा ३३(क)अनुसार यस्तो अपराध गम्भीर अपराध मानिने व्यवस्था छ। त्यसकै उपदफा (ङ) मा थान, चौकी, गरद, पालो पहरा वा आफूसँग रहेको हतियार वा सरकारी सम्पत्ति आक्रमणकारीलाई सुम्पिएमा सोही अनुसार कारबाही हुने स्पष्ट प्रावधान छ।
टिप्पणीहरू