आज दशैंको टीका, भोलिबाट खतराको चेतावनी

आज दशैंको टीका, भोलिबाट खतराको चेतावनी

हिन्दूहरुको महान पर्व विजयादशमी आज देशभर हर्षाेल्लासका साथ मनाइँदै छ । तर भोलिबाटै देशका विभिन्न भेगमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास सम्म पुग्न सक्ने देखिएको पूर्वसूचनामा जनाइएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउँदै पूर्वकार्यका लागि तयार रहन सरकारको तर्फबाट अनुरोध गरिएको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यतिबेला दशैंको माहोल भएपनि उल्लेखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म टाढा र रातिको समयमा यात्रा नगर्न जनसाधारणलाई सूचित गरेको छ । सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र निर्णय पालना गराउने भनिएको छ ।

पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन भन्दै डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन–दिन एवम् आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान सचेत गराइएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयम्सेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयार रहन प्राधिकरणले भनेको छ । 

जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न एवम् पूर्वतयारी, प्रतिकार्य र त्यसमा सहयोग गर्ने साझेदार संस्थाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रवक्ता शान्ति महतले बताए ।

टिप्पणीहरू