किन मागिएको होला प्रधानन्यायाधीश र अख्तियार प्रमुखको राजीनामा ?
भ्रष्टाचारविरुद्धको आन्दोलनमा सक्रिय "जेन–जी पुस्ता"ले भदौ २३ र २४ गते गरेको प्रदर्शन र विध्वंशसङ्गै विभिन्न स्वार्थ समूहहरूले आफूलाई जेन–जीको नाममा सक्रिय बनाएका छन् । हालसम्म जेन–जीकै नाममा दर्जनौं संगठन स्थापित भइसकेका छन् र प्रत्येक समूहको आफ्नै माग तथा एजेण्डा छ ।
त्यस्तै,जेन–जीको एउटा समूहले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र अख्तियार प्रमुख आयुक्त प्रेम राईको राजीनामा मागेको छ । हिजो उक्त समूहले अख्तियार कार्यालयमा राईसँग सम्बन्धित निवेदन बुझाउँदै राजीनामा नदिए सडक प्रदर्शन गर्ने चेतावनी दिएको छ।
तर, विश्लेषकहरूले सडकमा देखिएको उक्त समूह आफैं स्वतन्त्र नभई भित्रबाट स्वार्थ समूह र सत्तासम्बन्धी शक्ति दुरुपयोगकर्ताहरूले चलाएको “गोटी” भएको दाबी गरेका छन् । स्रोतका अनुसार,अख्तियारमा भ्रष्टाचारका उजुरी तथा छानबिनको प्रक्रियामा रहेका जिम्मेवार सरकारी अधिकारी, नियमनकारी निकायका प्रमुखहरुले उक्त प्रक्रियालाई पन्छाएर मुद्दा बन्द गर्न स्वार्थ समूहले जेन–जीलाई प्रयोग गरेको बताइन्छ ।
स्रोत भन्छ, ‘अख्तियार प्रमुख र प्रधानन्यायाधीशको राजीनामा माग्ने समूह स्वार्थी समूहको चंगुलमा परेका छन् । पर्दाभित्र बसेर उनीहरूले जेन–जी समूहलाई आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गरिरहेका छन् । जेन–जीको एउटा समूह यसमा मतियार मात्र बनेका छन्।’ यसमा कतिपयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतमाथि शंकाको सुई तेर्स्याएका छन् ।
टिप्पणीहरू