काँग्रेसका कर्मचारीबीच किचलो

काँग्रेसका कर्मचारीबीच किचलो

‘मासिक ४० हजार तलब थापेर ४ लाख खर्च गर्ने श्रोत, महिनैपिच्छे जिल्ला जिल्लामा हेलिकप्टर चढेर आउजाउ गर्ने बाटो के हो ? निर्वाचनका कारण होइन, हामी आफ्नै आचरणका कारण डराइरहेका छौं ।’

काँग्रेस भातृ संगठनमा संघीय निर्वाचनको निहुँ देखाएर महाधिवेशन रोक्न खोजिएपछि केही सदस्य यसैगरी कराउँदै थिए, अनामनगरस्थित केन्द्रीय कार्यालयमा । 

आगामी माघ ५ देखि ७ सम्म निजामती कर्मचारी युनियनको महाधिवेशन मिति घोषणा भइसकेको अवस्थामा प्रतिनिधिसभा निर्वाचनको बहाना देखाएर कार्यवाहक उपाध्यक्ष उत्तम कटुवालले कन्फर्म अध्यक्ष बनी दुई बर्ष संगठन चलाउने रणनीति लिएसँगै कलह मात्र शुरु भएको छैन कि केन्द्रीय सदस्यहरूले नै प्रश्न उठाउन थालेका छन् ।

२६ पदाधिकारी र १०१ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको युनियनको बैठक शनिवार डाकिएको थियो । साधारण बहुमतसमेत नपुर्‍याई उत्तम कटुवाललाई कावा अध्यक्षबाट अध्यक्षमा उकाल्ने निर्णयप्रति अधिकांश सदस्यले रोष प्रकट गरेका छन् । ८० प्रतिशत विभागीय अधिवेशन सम्पन्न भएको र बाँकी २१ जिल्ला तथा करिब २० प्रतिशत विभागीय अधिवेशन सम्पन्न गराउने तयारी चल्दाचल्दै उत्तम कटवाललाई एक तह बढुवा गरिएको हो ।

यसअघिका अध्यक्ष गोपाल पोखरेल अनिवार्य अवकाशमा गएसँगै उनलाई अध्यक्षमा बढुवा गर्ने निर्णयले काँग्रेस भातृ संगठनमा पराकम्प गएको छ । यसअघि सदस्यता वितरण र नवीकरणको विवादमा फसेपछि ०८२ साल वैशाख ४, ५ र ६ गते केन्द्रीय महाधिवेशन सारिएको थियो । त्यहाँबाट मिति धकेलेर माघमा पुर्‍याइएकोमा प्रतिकूल परिस्थिति भन्दै उत्तम कटवाललाई पूर्ण अध्यक्ष बनाइएको हो ।

टिप्पणीहरू