अर्याल र कार्कीलाई सिध्याउन दिपक भट्टको हात !

अर्याल र कार्कीलाई सिध्याउन दिपक भट्टको हात !

मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने नयाँ पुस्ताको माग सुन्दा जति आकर्षक लाग्छ त्योभन्दा बढी त्यसको माखेसाङ्लो बुझ्न जरुरी छ । यसवीच भ्रष्टाचार सरकारी पदाधिकारी,न्यायाधीश, कर्मचारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताले मात्रै गर्छन् भन्ने भाष्य र मानक जबर्जस्ती स्थापित गराइँदैछ ।

यसभन्दा पहिले ती सबैलाई ‘युज एण्ड थ्रो’ गर्न खप्पिस ‘महान बिचौलिया’ हरुको कमाउ धन्दाबारे नबुझेसम्म न मुलुकबाट भ्रष्टाचार अन्त्य हुन्छ, न  त सुशासन नै कायम हुन्छ । दशकौंदेखि ठूला राजनीतिक दलका मुख्य नेता तथा प्रभावशाली राजनीतिक शक्ति केन्द्रको समीपमा रहेर आफ्नो दुनो सोझ्याउँदै आएको व्यापारिक घराना र उसका मालिकहरुले भदौ २४ को विध्वंशपछि राजनीतिक रंग फेरेको अनेक दृश्य देखिन थालेको छ । 

नेपाली सेना,प्रहरी,सशस्त्रको राशन र लजिष्टिक ठेक्का सँधै मिलाउने,हतियार र गोली किन्दा एजेन्टको भूमिका निर्वाह गर्ने,सेनाको हेलिकोप्टर खरिदमा मध्यस्थकर्ता (एजेन्ट) बन्ने, नेपाली नोट छाप्ने विदेशी कम्पनीको स्थानीय एजेन्ट बन्नेदेखि सबैजसो काम गर्दै आएका बिचौलिया दिपक भट्टले जेन जी प्रदर्शन र विध्वंशपछिको अवस्थालाई पनि आफ्नै काबुमा राख्न प्रयास गरेको पाइएको छ । 

भदौ २४ गते अधिकांश व्यापारीको घर, व्यवसाय तथा कारखानामा तोडफोड र आगजनी गरिँदा उनको सानेपास्थित निवास किरण भवन,मार्को पोलो होटलको व्यापार साम्राज्य र बिजुलीबजारको किङ्ग्स कलेजतिर कसैले आँखा लाएनन् । नयाँ परिस्थितिमा जेन जीका नाममा प्रधानन्यायाधीश,अख्तियार प्रमुख, मुख्य सचिवसम्मको राजीनामा माग्न लगाउने, केही प्रहरी अधिकृतलाई अनेक आरोपमा डाम्न खोज्ने घटनालाई समेत धेरैले भट्टको भावी योजनासँग जोडेर व्याख्या गरेका छन् ।

स्रोत भन्छ, ‘मिडिया ट्रायल गर्दै नख्खु कारागारमा रहेका रवि लामिछानेलाई मुख्य सचिवको मिलेमतोमा भगाइएको भनेर हिजोदेखि अनलाइनहरुमा लेखाउने प्रमुख पात्र दिपक भट्ट हुन् । भावी आइजीपीको लाइनमा रहेका उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई डाम्न लगाउने पनि उनै हुन् । त्यसमा काठमाडौंका मेयर बालेन साहको पनि स्वार्थ जोडिएको देखिन्छ । उनी विशेषगरी अख्तियार प्रमुख र प्रधानन्यायाधीशविरुद्ध हात धोएर लाग्नुको कारण बेग्लै छ ।’ 

अख्तियार प्रमुख प्रेमकुमार राईले बालेन फ्रान्स भ्रमणमा जाँदा आफूसँगै लगिएका सल्लाहकारहरुलाई राज्यकोषबाट खर्च गराएको २० लाख रुपैयाँ फिर्ता गराएको झोँक फेर्न अहिले राजीनामा मागिएको खुल्दै छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह  राउतले भदौ २४ को विध्वंश र आगजनीपछि सर्वोच्चमा आगो निभाउन काठमाडौं महानगरको दमकल मगाउँदा नपठाएको सार्वजनिक गुनासो पोखेका कारण साह रिसले आगो भएको पनि छर्लङ्गै छ । 

यता,अर्को महिना नेपाल प्रहरी प्रमुख बन्न तयार एआइजी कार्कीलाई डाम्न रविलाई नख्खु जेलबाट निकाल्न भूमिका खेलेको कथा मुख्यसचिव एकनारायण अर्याल र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँगै जोडेर फैलाउन खोजिएको छ । अर्कोतिर भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि ओलीको शासनकालमा विभिन्न जिम्मेवारीमा रहेका सरकारी अधिकारीहरुलाई जतिसक्दो खुइल्याउन दबाब दिने क्रम जेनजीका नाममा बढ्दो छ । 
 

भदौ २४ गते रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले रविलाई नख्खुबाट निकाल्न मुख्यसचिव,गृह सचिव,प्रहरी प्रमुखदेखि भ्याली एआइजीसम्म फोन गरेका थिए । ती अधिकारीहरु मुलुकमा जताततै तोडफोड,आगजनी र लुटपाटफ मच्चिरहेको बेला चौथो ठूलो दलका कार्यवाहक सभापति र पूर्व मन्त्रीले गरेको फोन नउठाउने प्रश्न नै नभएको बताउँछन् ।

मुख्यसचिव अर्यालले डिपीलाई ‘रविको सम्बन्धमा राष्ट्रपतिले माफी र अदालतले आदेश दिएको अवस्थामा बाहेक जेलमुक्त हुन नसक्ने जवाफ दिँदै त्यसबारे थप जानकारीका लागि गृह सचिवसँग सम्पर्क गर्न’ सल्लाह दिएका  थिए । मुख्यसचिव अर्याल भन्छन्, ‘देशमा महाआपत उत्पन्न भएको बेला आएको फोन रिसिभ गर्दैमा अनेक लाञ्छना लगाउन पाइन्छ ?’

भदौ २३ गते नयाँ बानेश्वरमा भएको गोली प्रहारको घटनापछि बेलुका  प्रहरीले रिक्त भ्याली एआइजीको ठाउँमा हेडक्वार्टरमा कार्यरत एआइजी कार्कीलाई खटाएको थियो । भोलिपल्ट मध्यान्हपछि अराजक समूहले सिंहदरबार,संसद भवन,सर्वोच्च अदालत,राष्ट्रपति भवन,व्यापारिक भवनहरु, नेताका निवासमा आगो लगाउँदै ध्वस्त पार्न थाल्यो । त्यसपछि रास्वपाका नेताहरु उत्तेजित भीडसहित नख्खु जेल पुगेर रविलाई बाहिर निकाल्नतिर लागे । 

भएको यत्ति हो तर अहिले यसलाई तिलको पहाड बनाउन खोजिएको छ र यसका पछाडि दिपक भट्ट हात धोएर लागेको बुझ्न सकिन्छ । किनकि उनलाई प्रहरीको निम्ति कमसल हतियार भिडाउन र पुनर्वीमामा मनपरी गरिरहन छुट नदिने अर्यालप्रति रिस पोख्नु छ,कार्कीलाई शुरुमै तर्साएर पछि अनेक काम लिनु छ ।

टिप्पणीहरू