जेन जीका नाममा अख्तियार चलाउने बिचौलियाको जुक्ति

जेन जीका नाममा अख्तियार चलाउने  बिचौलियाको जुक्ति

अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै जेन जीहरूको एउटा समूहले गत साता अख्तियार कार्यालय घेराऊ गर्यो । केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा उक्त पदमा नियुक्त भएका उनले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै राजीनामा मागियो । तर,उनै अख्तियार प्रमुख राई ओलीबाट कति पीडित बनाइएका थिए भन्ने एउटा सन्दर्भ यहाँ उल्लेखनीय छ ।

२०७८ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघि ओलीले राईसहित विभिन्न संवैधानिक अंगमा एकैपटक ठूलो संख्यामा पदाधिकारी नियुक्त गरेका थिए । गृहसचिवबाट अवकाश पाएलगत्तै अख्तियार प्रमुख बनाइएका उनलाई धेरैले ओलीको प्रिय पात्रका रुपमा चर्चा गर्दछन् । तर,पछिल्लो पटक ओली प्रधानमन्त्री भएपछि यी दुईको सम्बन्ध चिसिएको तथ्य भने खासै बाहिर आएको छैन । 

जनआस्थाले गत जेठ पहिलो साता 'बालुवाटारमा यिनलाई ढोका बन्द' शीर्षकमा यससम्बन्धी समाचार प्रकाशित गरेको थियो । विश्वासिलो स्रोतले उपलब्ध गराएको सूचनामा आधारित उक्त समाचारमा एउटा संवैधानिक अंगको प्रमुखले मुलुकको प्रधानमन्त्रीसँग भेट पाउन पनि हप्तौँ र रातभर कुर्नुपरेको विषय उल्लेख गरिएको छ । 

आफैँले नियुक्त गरेका अख्तियार प्रमुखसँग ओली किन असन्तुष्ट भए ? यसको पछाडि नामुद बिचौलिया दिपक भट्टको हात रहेको स्रोतहरू दावी गर्छन् । खुलेकै कुरा हो,सुरक्षाकर्मीको हातहतियार खरिददेखि राष्ट्र बैंकको नोट छपाईसम्मका ठूला सरकारी ठेक्कामा लामो समयदेखि भट्टको एकछत्र हालीमुहाली चल्दै आएको छ । त्यसका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वको साथ पाउँदै आएका उनी राज्यका संवैधानिक निकायहरूमा पनि आफू अनुकूल सेटिङ मिलाउन चाहन्छन् । तर,अख्तियार प्रमुख प्रेम राईले साथ दिएनन् ।

"जो सत्तामा पुग्यो उसैको निकट बनेर ठुल्ठूला सरकारी ठेक्का हात पार्दै आएका बिचौलिया भट्ट अहिले जेन-जी समर्थक बनेका छन् । नक्कली जेन-जी अर्जुन शाहीजस्तालाई उचालेर अख्तियारलाई तर्साउने खेल उनकै हो भनिंदैछ । त्यसैअन्तर्गत जेन-जीको आवरणमा प्रेम राईको राजीनामा मागिएको भित्रभित्र धेरैले बुझिसकेका छन् । " 

त्यसैको रिस फेर्न भट्टले अनेक पोल लगाएपछि ओली राईसँग रुष्ट बनेको एउटा घटना स्रोतले सुनाएको छ । करिब ३ महिना पहिले एकदिन बालुवाटार बोलाएर ओलीले भट्टलाई अप्ठेरो हुनेगरी काम नगर्न राईलाई ठाडो आदेश दिएका थिए । 

'तपाईं दिपक भट्टको पछि किन लाग्नुहुन्छ ?' ओलीको आशय बुझेका राईले भने, 'ए ! हजुर ऊ त अन्तैको मान्छे हैन र !' अन्तैको मान्छे भनेपछि ओलीलाई रिस उठ्छ भन्ने बुझेका उनले त्यसो भन्दा 'त्यो तपाईंको चासोको कुरा हैन ' भनी ओलीले रुखो जवाफ दिएको स्रोत बताउँछ । 

जो सत्तामा पुग्यो उसैको निकट बनेर ठुल्ठूला सरकारी ठेक्का हात पार्दै आएका बिचौलिया भट्ट अहिले जेन-जी समर्थक बनेका छन् । नक्कली जेन जी अर्जुन शाहीजस्तालाई उचालेर अख्तियारलाई तर्साउने खेल उनकै हो भनिंदैछ । त्यसैअन्तर्गत जेन जीको आवरणमा प्रेम राईको राजीनामा मागिएको भित्रभित्र धेरैले बुझिसकेका छन् ।  

स्रोतहरूका अनुसार यसअघि संवैधानिक निकायका ५२ भाइको मुद्दामा अदालतलाई प्रभावित बनाएर राईको पद खुस्काउने र एक जना पूर्वआइजीपीलाई अख्तियारमा ल्याउने भट्टको योजना थियो । तर,अदालतबाट त्यसअनुसार फैसला नभएपछि तिल्मिलाएका उनले बालुवाटारबाट दबाब बढाएको र ओलीले बोलाएर 'दिपक भट्टको पछि नलाग्न' निर्देशन दिएको दावी गरिएको छ । 

अब ओली, शेरबहादुर देउवा र प्रचण्डको उपादेयिता सकिएको बुझेका भट्ट अहिले सत्ताको नजिक रहेका सुधनहरूसँग निकट हुने रणनीतिमा छन् । सुधनलगायत नक्कली जेन जीहरुलाई हातमा लिएर राज्य संयन्त्र कब्जा गर्न उनले प्रहरी, अख्तियारजस्ता निकायमा आफू अनुकूल मान्छे लैजाने खेल शुरु गरेको संकेतहरू क्रमश: आउन थालिसकेको छ । 

भदौ २४ गते रवि लामिछाने जेल तोडेर बाहिर निस्किएको घटनामा जोडेर मुख्य सचिव एकनारायण अर्याल र आइजीपीको लाइनमा रहेका एआइजी दानबहादुर कार्कीलाई बदनाम गराउन नियोजित समाचार लेखाउनेमा पनि भट्टकै समूह सक्रिय रहेको स्रोतको दावी छ ।

टिप्पणीहरू