जेनजीः आन्दोलनको बेला एकजुट, चुनावताका छरपस्ट

जेनजीः आन्दोलनको बेला एकजुट, चुनावताका छरपस्ट

भनिन्छ, ‘एकता नै बल हो ।’ जहाँ एकता हुन्छ,त्यहाँ जीत निश्चित छ । यसलाई विगत होस् या वर्तमानले समेत पुष्टि गराउँछ । मुलुकबाट एक सय चार वर्ष लामो राणा शासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना सबै शक्ति मिलेर सम्भव भएको हो । 

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र विध्वंशले मुलुकको राजनीतिमा ठूलो परिवर्तन ल्यायो । दुई ठूला दल (काँग्रेस–एमाले) मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकार एकाएक ढल्यो भने राजनीतिक दलका शीर्ष नेताहरुले नेपाली सेनाको सुरक्षामा बस्नुपर्यो । 

हुन त जेनजीहरु सत्ता परिवर्तनका निम्ति सडकमा ओर्लिएका थिएनन् । तर, २३ गतेको सरकारी दमनले भोलिपल्ट मुलुकमा परिकल्पना नै नगरिएको अवस्था ल्यायो । त्यसपश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको एक महिना बितिसकेको छ । 

यो सरकारको प्रमुख कार्यादेश हो, प्रतिनिधि सभा सदस्य चुनाव गराउनु । त्यसका लागि आउँदो फागुन २१ गते निर्वाचन मिति तोकिसकिएको छ । योसँगै विद्रोहमार्फत सत्ता फेरबदल गर्न सफल जेनजी पुस्ताको चुनावमा कसरी सहभागिता रहन्छ ? जेनजीहरु दल गठन गरेर चुनावमा जान्छन् कि स्वतन्त्र उम्मेदवारी दिन्छन् या मतदाताकै रुपमा मात्र सहभागी हुन्छन् ? अहिले यो चौतर्फी चासोको विषय हो ।

समय बित्दै गइरहेको छ, जेनजी पुस्ता उत्तिकै टाढिँदै गइरहेका छन् । समूह–समूहमा बाँडिएका जेनजीहरु नयाँ राजनीतिक शक्ति निर्माणमा जुट्न सकेका छैनन् । 

सडकमा उत्रिने बेला जेनजीहरुको प्रमुख माग थियो,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । त्यसैका निम्ति तत्कालिन संसद विघटन गरेर चुनाव मिति घोषण गरिएको हो । आउँदो चुनावपछि गठन हुने संसद्मार्फत संविधान संशोधन वा पुनःलेखन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने उनीहरुको लक्ष्य देखिएको थियो ।

तर,सडकमा एउटै माग र उद्देश्यका साथ होमिएका जेनजीहरु अहिले भने छरपस्ट देखिन्छन् । उनीहरुका न एजेण्डा स्पष्ट छन्,न आन्दोलनकै भावनाअनुसार चुनावतिर केन्द्रित हुन सकेका छन् । समय बित्दै गइरहेको छ, जेनजी पुस्ता उत्तिकै टाढिँदै गइरहेका छन् । समूह–समूहमा बाँडिएका जेनजीहरु नयाँ राजनीतिक शक्ति निर्माणमा जुट्न सकेका छैनन् । 

जबकी निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलमार्फत चुनावमा सहभागी हुनका निम्ति कात्तिक मसान्तभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । यद्यपि, आन्दोलनको मुख्य नेतृत्वकर्ता जेनजी पुस्तामा यो विषयमा अन्यौलता देखिन्छ । एकातिर जेनजीको वास्तविक नेतृत्व को हो ? भन्नेमै विवाद छ,अर्कोतिर जेनजीभित्र पनि फरक–फरक माग सुनिन थालेको छ । 

कोही चुनावमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहन्छन् कोही अगावै, कतिपय संघीयता,संविधान खारेजीको माग गरिरहेका छन् । जसका कारण फागुनमा चुनाव हुनेमा आशंका उत्पन्न हुनुका साथै फेरि पुरानै दलको आगमन त हुने होइन भन्ने पनि लाग्न थालेको छ । 

फागुनपछि पुराना दल पुनःस्थापित होलान् त ?

भदौ २३ र २४ गतेको विद्रोहपछि मुलुकका प्रमुख राजनीतिक दलहरुको लोकप्रियता र प्रभावमा संकट आइसकेको छ । अहिले मुख्य दलमा नेतृत्व परिवर्तनको आवाज पनि चकिँदै गइरहेको छ । एमालेमा तत्काल नेतृत्व परिवर्तन हुने छाँटकाँट नदेखिए पनि नेपाली काँग्रेस,माओवादीमा सम्भावना बलियो छ । 

यसले नेतृत्व परिवर्तन गरेर यी दल चुनावमा होमिए फेरि पुनःस्थापना हुनसक्ने सम्भावना पनि देखिन्छ । अर्कोतर्फ,काँग्रेस,एमाले,माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादीमा अझै पनि लाखौं लाख कार्यकर्ता क्रियाशील छन् । यी दलहरुको जिल्ला–जिल्ला, नगर, वडामा पनि बलियो संगठन छ । 

जसका कारण दलहरुलाई चुनावमा जान र जित्न सहज हुनेछ । तर, जेनजीहरु संगठित देखिँदैनन् । यसले उनीहरुलाई चुनावमा जान त गाह्रो हुन्छ नै सँगै नराम्रो हार व्यहोर्नुपर्ने समेत हुनसक्छ । यद्यपि, जेनजी पुस्ताबाट एउटा मात्र नयाँ दलको उदय भयो भने पनि त्यसको प्रभाव व्यापक हुने देखिन्छ । सँगै दल र जेनजी पुस्ताले भिड्ने चुनाव रोचक हुने पक्का छ । 

संसद पुनःस्थापना कि चुनाव ? 

सरकारले चुनावको तयारी गरिरहँदा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दर्जनौं रिट परेको अवस्था छ । कानूनका अगुवाहरुले संसद् पुनःस्थापनाको माग गर्दै मंगलबार सर्वोच्चमा रिट पेश गरेका थिए । यद्यपि, ती रिट दर्ता गर्ने वा नगर्ने विषयबारे अध्ययन जारी रहेको सर्वोच्चले जनाएको छ ।

यस्तै, तत्कालिन संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पनि संसद पुनःस्थापनाको पक्षमा देखिएको छ । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकोले पुनःस्थापित हुनुपर्ने उसको माग छ । तथापि,अब न्यायालयबाट हुने फैसलाले नै संसद् पुनःस्थापना गर्ने कि चुनाव गराउने तय गर्ने छ । 

चुनावबारे के भन्छन् जेनजी ? 

जेनजी प्रतिनिधि प्रवेश दाहाल चुनावबारे अहिलेसम्म छलफल नगरिएको बताउँछन् । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘अहिलेसम्म एजेण्डा तय भएको छैन । यसबारे तत्कालै नबोलौं ।’

आन्दोलनअघि वा पछिसमेत निकै चर्चामा रहेका आफूलाई जेनजी अगुवा बताउने मिराज ढुंगाना भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अडानमा देखिन्छन् । सो व्यवस्था भएपछि मात्र आफूहरु चुनावमा जाने उनले बताए । 

नत्र चुनाव नै हुन नदिने ढुंगानाको चेतावनी छ । त्यस्तै, जेनजी प्रतिनिधि रक्षा बम पनि चुनावबारे कुनै निर्णय नै नभएको बताउँछिन् । भनिन्, ‘हामी छलफल गर्छौ । छिट्टै यो विषयलाई टुंगोमा पुर्याउँछौं ।’

टिप्पणीहरू