भारतीय कफ सिरपबाट गयो दर्जनौंको ज्यान, सावधानी अपनाउन निर्देशन
भारतमा दर्जनौं बालबालिकाको ज्यान लिएको कफ सिरप भेटिएमा सावधानी अपनाउन नेपाल प्रहरीले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभागले प्रशासन शाखालाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको छ ।
भारत सरकारले कफ सिरपमाथि प्रतिबन्ध लगाए पनि यसको निर्यात अन्य राष्ट्रमा हुनसक्ने सम्भावना देखिएकाले सावधानी अपनाउन भनिएको छ। प्रहरीका अनुसार, इन्टरपोलको पब्लिक हेल्थ एण्ड फार्मास्युटिकल्स क्राइम विभागबाट समेत यस सम्बन्धमा अनुरोध आएको छ।
परिपत्रअनुसार, ‘सो औषधि नेपालमा फेला परेमा आवश्यक सावधानी अपनाइ जानकारी सम्बन्धित शाखामा पठाउन सम्बन्धित निकायलाई पत्राचार गर्नुहोस,’ भनिएको छ।
विषाक्त कफ सिरपका कारण भारतका मध्य प्रदेश र राजस्थानमा गत महिना नौ वर्षमुनिका १४ बालबालिकाले ज्यान गुमाएका थिए।

टिप्पणीहरू