कैलाली प्रशासनबाहिर अनशन

कैलाली प्रशासनबाहिर अनशन

सरकारले तोकेको धानको मूल्य पाउनुपर्ने माग राख्दै कैलालीमा एक युवक अनशन बसेका छन् । ‘जसको कोही छैन, त्यसको हामी छौं’ भन्ने अभियानका संयोजक नेत्र भण्डारी हिजोदेखि जिल्ला प्रशासन कार्यालय, कैलालीको गेटबाहिर अनशन बसेका हुन् । 

किसानहरु सस्तोमा धान बेच्न बाध्य भएको बताउँदै उनले सरकारले कायम गरेको मूल्य किसानले पाउनुपर्ने माग राखेका छन् । कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उनीसँग आज छलफल गरिने बताए । जनआस्थासँग उनले भने,‘आज बैठक राखेका छौं । कसरी अगाडि बढ्न सकिन्छ छलफल गर्छौं ।’

मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार प्रशासनले असोज ३१ गते धानको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । जसअनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार ४६३ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ तोकिएको छ । तर, किसानहरुले सरकारले निर्धारण गरेबमोजिम धानको मूल्य पाउन सकेका छैनन् ।
 

टिप्पणीहरू