केपी ओलीको सुरक्षा फौजमा विद्याको घर जलाउने थेवे

केपी ओलीको सुरक्षा फौजमा विद्याको घर जलाउने थेवे

भदौ २४ गतेको विध्वंशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवास डढाएवापत समातिएका नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता सोनम थेबेले गत हप्ता रामबाग महल,ललितपुर धोवीघाटमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकलाई सुरक्षा प्रदान गरेको भिडियो फेला परेको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बाराही बस्ने थेबे पक्राउ परेपछि एमाले निकट विभिन्न संगठनमा आवद्ध केहीले उनी पार्टी सदस्य नरहेको स्पष्टिकरण सामाजिक सञ्जालमार्फत दिएका थिए ।

गुण्डा नाइके चक्रे मिलन समूहसँग आवद्ध रहेको र ‘पटके गुण्डा’को रूपमा परिचित थेबेमाथि ठगीका विभिन्न आरोप प्रहरीमा दर्ता भए पनि ताप्लेजुङका एमाले नेताहरूको दबाबमा अनुसन्धान अघि बढ्न नसकिरहेको स्थिति थियो यसका वावजुद पछिल्लो पटक उनी २०८२ भदौ ५ गते नै पक्राउ परेका थिए।

अहिले आएर जतिसुकै ढाकछोप गर्न खोजिए पनि थेबे एमाले र राष्ट्रिय युवा संघको सक्रिय कार्यकर्ता रहेको पुष्टि भएको छ । विभिन्न पार्टी कार्यक्रम र भेला आयोजना हुँदा अग्रपंक्तिमा देखिने उनी पछिल्लो समय एमालेका आन्तरिक गतिविधि र उच्चस्तरीय बैठकहरूमा समेत नेतृत्वको सुरक्षार्थ भन्दै बाहुबली पल्टनसहित तैनाथ हुने गरेका थिए ।

भण्डारीको निवासमा आगो लगाएर केही समय भूमिगत भएका उनी असोज अन्तिम साता सम्पन्न एमाले केन्द्रीय समिति बैठकस्थलमा सुरक्षा दस्तासहित उपस्थित भएको भिडियो प्रमाण प्रहरीले फेला पारेको बुझिएको छ । ललितपुरको झम्सिखेलस्थित रामबाग पार्टी प्यालेसमा थेबे झण्डै एक दर्जन मसलचीको दस्तासहित सक्रिय रहेको फोटो तथा भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रामबाग महलको माथिल्लो तलाबाट सुरक्षा दस्तासहित एमाले केन्द्रीय समिति बैठकको बाहिरी सुरक्षा घेरामा खटिएका थेबेले विद्या भण्डारीको घरमा आगो झोसेको सिसिटिभी फुटेजको आधारमा उनी काठमाण्डौ प्रहरीको हिरासतमा छन् ।

टिप्पणीहरू