सटर व्यापारीको कब्जामा, मन्दिर व्यवस्थापन संकटमा

सटर व्यापारीको कब्जामा, मन्दिर व्यवस्थापन संकटमा

प्राचीन धार्मिक तथा ऐतिहासिक महत्वको तौलेश्वर मन्दिरका सटर व्यापारीको कब्जामा पुगेपछि अवस्था दयनीय बनेको छ । छन्। वि.सं. १८७२ मा तत्कालीन सुब्बा जयकृष्ण पुरीले निर्माण गरेको उक्त मन्दिरका ४१ सटरमध्ये अधिकांश व्यापारीले अनियमित रूपमा कब्जा जमाएपछि मन्दिरको आर्थिक अवस्था निकै कमजोर देखिन्छ ।

तत्कालीन मन्दिर सञ्चालक सर्वेश्वर पुरीको मौखिक भाडादरमा २०५० साल यता बसेका अधिकांश व्यापारीले हालसम्म सटर नवीकरण गराएका छैनन् । कतिपयले भाडा पनि तिरेको देखिँदैन । सदरमुकाम तौलिहवाको मुटुमा रहेको सटरको भाडा मासिक आठ हजार देखि १२ हजारसम्म पर्ने भएपनि मन्दिरमा भाडा जम्मा २२ सयदेखि ३७ सय मात्र भित्रिएको बताइन्छ ।

तौलेश्वर मन्दिर व्यवस्थापन समितिका अनुसार १६ वटा सटरका व्यवसायीले भाडा नै तिरेका छैनन्। समिति सचिव हरिषचन्द्र लाल श्रीवास्तवले बताएअनुसार व्यापारीबाट करिब २४ लाख रुपैयाँ भाडा बक्यौता छ। उनले थपे, “भाडा बढाउन पनि मान्दैनन्, नयाँ टेन्डर गर्न पनि दिदैनन्, भाडा पनि तिर्दैनन्। यसलाई कब्जा नभनेर के भन्ने?”

श्रीवास्तवका अनुसार एउटा व्यापारीको मात्र ५ लाख रुपैयाँ भाडा बक्यौता देखिन्छ । भाडा तिर्न अनुरोध गर्दा व्यापारीहरूले अटेर गरेसँगै उल्टै धम्की दिने गरेको पनि बताएका छन्।

मन्दिर स्वामित्वबारे लामो समयदेखि विवाद छ। पुरी परिवार र मन्दिर व्यवस्थापन समितिबीचको मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते मन्दिर समितिको पक्षमा फैसला गरेपछि मात्रै समिति केही सक्रिय बनेको अध्यक्ष रामकुमार गुप्ताले बताए।

आम्दानीको प्रमुख स्रोत सटर भाडाबाट करिब एक करोड रुपैयाँ बैंकमा मौज्दात भए पनि विभिन्न विवादका कारण रकम निकाल्न नसकिएको समितिले जानकारी दिएको छ। स्थानीयबासीले मन्दिरका ४१ वटा सटरको नयाँ ढंगले टेन्डर गरी भाडा बढाउन माग गरे पनि मन्दिर समिति र व्यापारीबीचको मिलेमतोका कारण दुई वर्षदेखि प्रक्रिया अघि बढाइएको छैन।

यद्यपि मन्दिर स्वामित्वको अधिकार व्यवस्थापन समितिले जितेपनि, मन्दिर व्यवसायीको कब्जामा रहेको जस्तो देखिएको छ। आर्थिक अभाव भोग्दै आएको मन्दिर जिर्णोद्धार र व्यवस्थापनका लागि पटक–पटक दाता तथा स्थानीय सरकारको मुख ताक्दै आएको भए पनि आफ्नै आयश्रोत बढाउन मन्दिर संचालकले चासो नदिनुमा व्यापारीसँगको मिलेमतो हुन सक्ने आशंका स्थानीय बासिन्दा व्यक्त गरेका छन्।

टिप्पणीहरू