मन्त्रालयमै आमरण अनसन बस्ने शिक्षकहरुको चेतावनी
सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको शिक्षक सरुवा कार्यविधि खारेजीको माग गरेको छ । उक्त कार्यविधिले सामुदायिक विद्यालय र शिक्षण पेशामा नवप्रवेशी शिक्षकलाई प्रताडित पारेको समितिको ठहर छ ।
कार्यविधिविरुद्ध अदालतमा मुद्दा परेको, अघिल्ला सरकारले जनताको आवाज नसुनेको र अस्थिर सरकारका कारण समस्या समाधान हुन नसकेको भन्दै समितिले हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि संशोधनका लागि सामाजिक सञ्जालमार्फत सुझाव मागेकोप्रति चासो व्यक्त गर्दै कार्यविधि नै खारेजीको माग गरेको छ ।
‘हामी सरुवा पीडित शिक्षकसमेत भएकोले सामुदायिक शिक्षाको सबलीकरण तथा शिक्षण पेशामा दक्ष जनशक्तिको आकर्षणको लागि तत्काल उक्त अवैज्ञानिक सरुवा कार्यविधि खारेज गरी सबै सरोकारवाला पक्षको सुझावअनुसार वैज्ञानिक ढंगले यस्ता मनगणन्ते कार्यविधि नभई शिक्षा नियमावलीमा नै उचित प्रबन्धको माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
नागरिक सरकारले पनि आफूहरुको आवाज नसुने हजारौं नवप्रवेशी पीडित शिक्षकहरु शिक्षा मन्त्रालयमै आमरण अनसन बस्ने समितिको चेतावनी छ । साथै, त्यसका लागि तयारी अवस्थामा रहनसमेत शिक्षकहरुलाई आह्वान गरिएको छ ।
टिप्पणीहरू