प्रदर्शन शान्तिपूर्ण हुनेमा आयोगको शंका

प्रदर्शन शान्तिपूर्ण हुनेमा आयोगको शंका

विभिन्न समूहले छठपछि पुनः प्रदर्शन गर्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । 

आयोगले आज विज्ञप्ति जारी गर्दै आगामी दिनमा हुने प्रदर्शनहरुमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको भएको बताएको छ । ‘विगतका केही अभ्यासहरु हेर्दा प्रदर्शनहरु ध्वंशात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचते रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक छ,’ आयोगले भनेको छ । 

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित हुनुपर्ने र प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउनुपर्ने, घुणायुक्त अभिव्यक्ति दिन नहुने र उत्तेजनापूर्ण व्यवहार नियन्त्रण गर्नुपर्ने आयोगको भनाइ छ । 

‘समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानून र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रुपमा खोजिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

आयोगले नागरिकका समयमै सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित र नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार संरक्षण गर्न सरकारसँग माग गरेको छ । साथै, आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पनि प्रदर्शनरत पक्षलाई आग्रह गरिएको छ ।

टिप्पणीहरू