भूमिसुधारमन्त्री बन्न अस्वीकार,दूतावासलाई पत्राचार

भूमिसुधारमन्त्री बन्न अस्वीकार,दूतावासलाई पत्राचार

पर्यटन मन्त्रालय नपाएपछि भूमिसुधारमन्त्री बन्न अस्वीकार गरेका सम्पदाविद् गणपतिलाल श्रेष्ठ नेपालबाट हराएर विदेश पुगेका नेपाली सम्पदा खोजीमा सक्रिय भएका छन् । उनले बेल्जियमस्थित नेपाली राजदूतावासलाई लेखेको औपचारिक निवेदनमा ती सम्पदाको विस्तृत विवरण माग गरेका हुन् ।

श्रेष्ठले आफ्नो अध्ययन,अनुसन्धान र सम्पदा संरक्षण अभियानका लागि आवश्यक सूचना माग गरिएको भन्दै दूतावासका सूचना अधिकारीलाई पत्र लेखेका हुन् । उनले नेपालबाट गैरकानूनी रूपमा विदेशिएका र नागरिक समाज तथा सम्पदा–प्रेमीहरूको पहलमा दूतावासमा बुझाइएका मूर्ति, टुँडाल,गाताचित्रलगायत सम्पदा लामो समयदेखि नेपाल फिर्ता नआएकोबारे प्रश्न उठाएका छन् ।

निवेदनमा लेखिएको छ, ‘ईटुम्बहालबाट चोरी भएका टुँडाल,राष्ट्रिय अभिलेखालयबाट चोरिएका प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्रको गाताचित्र र पशुपतिनाथ मन्दिरबाट चोरिएको लाकुलीश–परशुरामको मूर्ति भेटिएपछि हस्तान्तरण भएको लामो समय बितिसक्दा पनि ती सम्पदा नेपाल फिर्ता पठाइएनन्। यसको कारण के हो?’

श्रेष्ठले दूतावासले सम्पदा फिर्ता ल्याउन प्रक्रिया सुरु गरेको भए त्यस सम्बन्धमा भएका पत्राचारहरूको प्रतिलिपि उपलब्ध गराउन पनि माग गरेका छन्। उनले नेपालको संविधानको धारा २७ र सूचना अधिकार ऐन, २०६४ को दफा ३ र ७ बमोजिम विवरण छिटो उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

टिप्पणीहरू