भारी वर्षाको प्रक्षेपणपछि ‘अलर्ट’ जारी

भारी वर्षाको प्रक्षेपणपछि ‘अलर्ट’ जारी

महोत्तरीमा आजदेखि तीन दिन भारी वर्षाको प्रक्षेपणपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रशासनले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अवस्थामा रहन जिल्लाबासीलाई सचेत गराएको हो । प्रशासनले सूचना जारी गर्दै बाढी तथा डुबानको अत्याधिक जोखिम रहेकाले नदी किनारका बस्तीलाई सर्तक भएर बस्न भनेको छ ।  

वर्षात र बाढीबाट हुनसक्ने सवारी साधन र मानवीय क्षतिलाई मध्यनजर गर्दै प्रशासनले जोखिम रहेका स्थानमा सुरक्षा निकायलाई खटिन निर्देशन दिएको छ । त्यसैगरी, सुरक्षा निकाय, स्थानीय तहलाई स्वीकृत कार्ययोजनाअनुरुप तयारी अवस्थामा रहन, जरुरी कामबाहेक बाहिर जान, टाढा र रातको समयमा यात्रा नगर्न र धान तथा अन्य बाली नकाट्न पनि भनिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १५ गतेसम्म निरन्तर वर्षा हुने जानकारी दिएबमोजिम आज बिहानैदेखि मुलुकका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।

टिप्पणीहरू