मन्त्री पुगेपछि सहसचिवको निर्देशन: जथाभावी नबोल्नू
विश्व जलवायु सम्मेलनमा नेपालको प्रतिनिधि टोलीको नेतृत्व गरेका कृषि तथा पशुपन्छी मन्त्री मदन परियार सम्मेलन सुरु भएको एक सातापछि ब्राजिलको बेलेम पुगेका छन्। नोभेम्बर १० देखि सुरु भएको सम्मेलनमा मन्त्री १५ तारिखका दिन पुगेका हुन्।
सरकारले नौ सदस्यीय प्रतिनिधि मण्डल पठाउने निर्णय गरेपनि बेलेममा एक सयभन्दा बढी नेपाली उपस्थित भएको देखेपछि मन्त्री परियार चकित भएको बताइन्छ । यसबारे मन्त्रालयका सचिवसँग जिज्ञासा राखेपछि मन्त्रीले सहभागी संख्याबारे नेपाल फर्केपछि छलफल गर्ने योजना बनाएको बुझिएको छ ।
गत वर्ष अजरबैजानमा धेरैजना सहभागी भएपछि तत्कालीन सरकार आलोचित बनेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहमा ‘जन्ती लिएर गएका थियौ, के लिएर आयौ?’ भनी प्रश्न गरेका थिए।
मन्त्रालयको निर्णय विपरीत केही कर्मचारी विदेश भ्रमणमा सहभागी भएका थिए। यसपछि वन तथा वातावरण मन्त्रालयका जलवायु महाशाखा प्रमुखले सबै सहभागीलाई मन्त्रीसँग वा बाहिर कसैसँग पनि जथाभावी जानकारी नदिने निर्देशन दिएको बताइन्छ ।
विभिन्न एनजीओ–आईएनजीओका कर्मचारी र सरकारी प्रतिनिधि समेटेर आयोजना गरिएको भर्चुअल बैठकमार्फत् पनि महाशाखाले ‘कोप’ सम्बन्धी गतिविधिबारे कुनै प्रतिक्रिया नदिन चेतावनी दिएको एकजना सहभागीले जानकारी दिएका छन्।
यसअघि जनआस्थामा समाचार प्रकाशित भएपछि महाशाखा प्रमुखले सूचना चुहाएको भन्दै नेगोसिएटरहरूसँग आक्रोश पोखेका थिए । मन्त्रीले सहभागी संख्याबारे चासो देखाएपछि उनी नेगोसियटरहरूप्रति थप कडारुपमा प्रस्तुत भएका हुन् ।
टिप्पणीहरू