क-कसले तिरेछन् धेरै कर ?
सरकारले पाँच जना उत्कृष्ट करदातालाई सम्मान गरेर १४ औं राष्ट्रिय कर दिवस मनाउने भएको छ । आन्तरिक राजस्व विभागले भोलि लाजिम्पाटस्थित आफ्नै कार्यालयको प्राङ्गणमा कर दिवसको समारोह आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनाल रहनेछन् ।
बिहान ९ बजेदेखि शुरु हुने कार्यक्रममा विगतका जस्तै तामझाम नहुने विभागले जनाएको छ । सामान्य ढंगले दिवस मनाइने विभागका महानिर्देशक मदन दाहालले बताए । खर्च कटौतीका लागि सामान्य कार्यक्रम गर्न लागिएको उनको जिकिर छ ।
जनआस्थासँग भने,‘अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको छ । जेनजी आन्दोलनमा ठूलो क्षति भएको छ । त्यसलाई मध्यनजर गरेर विभागले सामान्य तरिकाले कर दिवस मनाउने निर्णय गरेको हो ।’
अघिल्लो वर्षसम्म विभागले कर दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम गर्दै आएको थियो । त्यसैगरी, करसम्बन्धी जनचेतना जगाउन विभागले साप्ताहिक रुपमा विद्यालयस्तरीय वक्तृत्वकलाको पनि आयोजना गर्थ्यों । यसवर्ष यीमध्ये कुनैपनि कार्यक्रम नगरिने विभागले जानकारी दिएको छ ।
विभागका अनुसार वार्षिक प्रतिवेदन मात्र सार्वजनिक गरिनेछ । त्यसैगरी, विभागले सुशासनको प्रत्याभूति दिलाउनका निम्ति डिजिटल माध्यमको प्रयोगलाई जोड दिएको छ । विभागले पछिल्लो समय आफ्ना सेवाहरुलाई फेसलेस, कन्ट्याक्टलेस बनाउँदै लगेको छ । यसबाट सेवा प्रभावकारी हुने विभागको जिकिर छ ।
टिप्पणीहरू