जेनजी आन्दोलन थालिएकै दिन जासुसी तालिम
गत भदौ २३ गतेको जेन जी प्रदर्शन थालिएकै दिन राजधानीमा अमेरिकी गुप्तचर संस्था सिआइएले राष्ट्रिय अनुसन्धान बिभाग हाकिमहरुलाई तालिम दिन थालेको तथ्य खुलेको छ । जेन जी प्रदर्शनकै दिन पारेर काठमाडौंमा गुप्तचरका हाकिम र मुख्य स्रोत व्यक्तिहरुलाई होटलमा ‘इन्गेज’ गराइएको नयाँ घटना बाहिरिएको छ ।
एसपी वासुदेव सिग्देलको नेतृत्वमा चार जना एसपी,चार जना डिएसपी र ११ जना अनुसन्धान अधिकृतलाई ‘तालिम’का नाममा अल्मल्याइएको थियो । कान्तिपथस्थित होटल यल्लो पगोडामा आयोजित चार दिने तालिम प्रारम्भ भएको भोलिपल्टै नयाँ बानेश्वरमा गोली चलेको खबर आएपछि २० जना तालिमेहरु लाखापाखा लागेका थिए । उनीहरु होटलमा दुई दिन बन्धक बन्दा विध्वंशसम्वन्धी सूचनाको स्रोत लगभग सुकेको थियो ।
तालिममा सहभागी एसपीहरुमा सन्तोष ढुङ्गेल, कुलचन्द्र नेपाल,राजन शर्मा सापकोटा,पुष्पनारायण दाहाल थिए । त्यसैगरी डिएसपीहरु दिगम्बर गिरी, अरुण कार्की, दिपक केसी, समिता गिरीले पनि भाग लिए । सिआइएको उक्त तालिममा सहभागी अनुसन्धान अधिकृतहरुमा प्रतिभा घिमिरे, कृष्ण ढुङ्गेल, भीमप्रसाद बसेल, बिपिन कट्टेल, राधेश्याम भट्ट, दिनेश मल्ल, हृशेष ढुंगाना र ममता रेग्मी थिए । अरु तीन जनाको नाम खुलेको छैन ।
इन्टेलिजेन्स सूचना संकलनमा महत्वपूर्ण मानिएका सूचना प्राप्त गर्ने शाखा, सम्पादन शाखा, विष्लेषण र प्राविधिक शाखाका कर्मचारीहरुलाई तालिमको नाममा होटलमा लगेर बन्धक बनाइएको सन्दर्भलाई भूराजनीतिक चलखेलको रुपमा अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ । स्रोत भन्छ, ‘अनुसन्धान विभागका प्रमुखलाई जानकारी गराउने सचिवालय शाखाका कर्मचारी, अध्यागमन शाखा प्रमुख, लेखा, प्रशासन र वैदेशिक शाखाका कर्मचारीहरु पनि उक्त तालिममा सहभागी थिए ।’
सहभागी सापकोटा, ढुंगेल, नेपाल, गिरी क्रमशः मोरङ्ग, सुनसरी, सप्तरी, पर्सा जिल्लाका गुप्तचर प्रमुख रहेका व्यक्ति पनि त्यसैमा सामेल थिए । जबकी ती जिल्ला पनि भदौ २४ गतेको विध्वंशमा राजधानी उपत्यका र पोखरापछि धेरै प्रभावित थियो । राजधानी उपत्यकाको गुप्तचर कन्ट्रोल प्रमुख वासु सिग्देल नै तालिम संयोजक रहेका थिए । काठमाण्डौ, भक्तपुर र ललितपुरका महत्वपूर्ण घटनाको जानकारी विभागका प्रमुखलाई गराउने व्यक्ति नै होटलमा अमेरिकीहरुसँग घाँटी जोडेर बसेपछि राज्य गोप्य सूचनाप्राप्तीबाट विमुख भएको हो ।
तालिम रोकिएको र जेन जी विध्वंशको तीन सातापछि सिग्देल आफैँ दुई साता भ्रमणका लागि अमेरिका उड्नु, यल्लो पगोडामा सिआइएको आयोजनामा तालिमको नाममा सूचनाका मुख्य स्रोत व्यक्तिलाई ‘इन्गेज’ गराउनुलाई सामान्य ढंगले लिन नहुने धेरैको मत छ ।
टिप्पणीहरू