लुम्बिनीमाथि काठमाडौंको जित

लुम्बिनीमाथि काठमाडौंको जित

दोस्रो संस्करणको सिद्धार्थ बैंक  नेपाल प्रिमियर लिग(एनपीएल) मा काठमाडौं गोर्खाज विजयी भएको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई २१ रनले हराउँदै काठमाडौंले दोस्रो जित दर्ता गरेको हो । 

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । लुम्बिनीको लागि शेर मल्लले २७, दिलिप नाथले २५, डार्सी शर्टले २२ तथा कप्तान रोहित पौडेल र गुल्बादिन नैबले समान ११/११ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

काठमाडौंको लागि मिलिन्द कुमार र जेर्हाड इरास्मसले समान दुई/दुई विकेट लिँदा करण केसी, शाहाब आलम, सन्तोष यादव र रसिद खानको नाममा एक/एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । काठमाडौंको लागि कप्तान करण केसीले ११ बलमा ४ छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ३४ रन बनाए । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ आत्था मिलिन्द कुमार र जेर्हाड इरास्मसले १७/१७ रन बनाए । 

लुम्बिनीको लागि गुल्बादिन नैब, रुबिन ट्रम्पेलमन, शेर मल्ल र रोहित पौडेलले समान एक/एक विकेट लिए । 

जितसँगै काठमाडौंले चार खेलबाट चार अंक  जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट दुई अंक जोडेको लुम्बिनी छैटौं स्थानमा झरेको छ ।
 

टिप्पणीहरू