पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने बल्ल सुरसार

पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने बल्ल सुरसार

गत चैत १५ गते तीनकुनेमा भएको दुर्गा प्रसाईं नेतृत्वको हिंसात्मक घटनामा अनाहक ज्यान गुमाउन पुगेका एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिने भएको छ । सञ्चारमन्त्री जगदीश खरेलको तत्परतामा सरकारले यससम्बन्धी प्रक्रिया अघि बढाएको हो ।

आन्दोलन आह्वानकर्ता दुर्गा प्रसाईंबाट बेवास्तामा परेका मृतकका परिवार शोकमा डुबिरहेको बेला सञ्चारमन्त्रीले शहीद घोषणासँगै क्षतिपूर्ति दिलाउने वचन दिएको बताइएको छ । सो घटनापश्चात् सुरेशका परिवारलाई समवेदना दिन ताहाचलस्थित उनको घरमा विभिन्न राजनीतिक दलका नेता, मानव अधिकारकर्मीहरु पुगेका थिए । तर,हिंसात्मक घटनाका आयोजक प्रसाईंले अहिलेसम्म सोधखोज गरेका छैनन् । 

घटनापछि प्रसाईंले पाँच लाख रुपैयाँ सहयोग दिने बताएका थिए । तर, आर्थिक सहयोग भन्दा पनि शहीद घोषणा र उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दै आएको परिवारले स्वीकार गरेन । सुरेशको परिवारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यही माग राखेका थिए । 

घटनापश्चात् सुरेशकी श्रीमती सुजन रजकलाई बालुवाटार बोलाएर भेटेका ओलीले ‘सबै माग पुरा हुन्छ,मैले बोलेपछि बोले,फरक पर्दैन’ भनी आश्वासन दिए पनि कार्यान्वयन भएन । बालुवाटारको भेटमा सबै माग सम्बोधन गर्ने आश्वासन दिइएकोमा पछि फोन उठाउनसमेत छोडेको सुरेशका भाइ दिनेश रजकले जनआस्थालाई बताए ।

तर, अहिले सञ्चारमन्त्री खरेलले केही हदसम्म भएपनि पीडामा मल्हम लगाउने प्रतिवद्धता जनाएपछि न्याय पाइने आशा परिवारका सदस्यहरू मारेका छैनन् । केही दिनअघि नेपाल टेलिभिजनको वार्षिकोत्सव कार्यक्रममा पुगेका खरेलले सुरेशलाई मरणोपरान्त साहसिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका थिए । सुरेशकी श्रीमती सुजनलाई सञ्चार मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरको जागिर दिलाउन क्याबिनेटमार्फत निर्णय गराएका छन् ।

तर, उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन सञ्चारमन्त्री खरेलले समेत अफ्ठयारो मानेको सुरेशका भाइ दिनेश सुनाउँछन् । उनकाअनुसार खरेलले यो विषय ‘पेचिलो’ रहेको भन्दै आयोग गठनमा जटिलता रहेको संकेत गरेका हुन् । आफू पत्रकारितामा रहेको बेलासमेत छानबिनको विषयमा चासो राखेको तर 'लहरो तान्दा पहरो गर्जिने' अवस्था रहेको उनको बुझाई छ ।

सञ्चारमन्त्रीले मृतक सुरेशका परिवारलाई मन्त्रालयको ढोका जहिल्यै खुला रहेको र आफ्ना गुनासा आएर निर्धक्क राख्न सल्लाह पनि दिएका छन् ।

टिप्पणीहरू