कोही जेनजी गृहको सोफामा, कसैलाई गेट बाहिरै अवरोध

कोही जेनजी गृहको सोफामा, कसैलाई गेट बाहिरै अवरोध

सुशीला कार्की नेतृत्वको सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको जेन जी समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेको छ । मदन बुढा, पुष्प विक, राजेन्द्र कुवँर, रामचन्द्र जोशीलगायतका युवाहरु आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर अर्यालसँग भेटघाट गरेका हुन् । 

मध्यान्हको समयमा भएको करिब आधा घण्टाको कुराकानीमा जेनजी युवाहरुले भदौ २३ र २४ गतेको घटनाका घाइते र सहिद परिवारलाई यथाशीघ्र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेको बताइन्छ । 

वार्तामा सहभागी बुढा असोज अन्तिम साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै माइतीघरमा अनसन समेत बसेका थिए । त्यतिबेला उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी पुर्याइएको थियो । 

आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार भन्दै आएको मिराज ढुंगानाको जेन जी समूहलाई भने सिंहदरबार प्रवेशमा अवरोध गरिएको छ । अस्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको उक्त समूहलाई गेटबाटै फर्काइएको थियो । हिजो पनि उनीहरु सिंहदरबार छिर्न खोजेकोमा प्रहरीले धकेलेर साइड लगाएको थियो ।

टिप्पणीहरू