विध्वंशको बेला जासुसहरु बेपत्ता

विध्वंशको बेला जासुसहरु बेपत्ता

बिगार्ने योजना पनि कति बान्की मिलेको ? जसले चारतिर चरेर सूचना बटुल्नुपर्ने हो, उसैलाई भत्तासहित होटलमा थुपारेर राखेपछि फिल्डमा आगो नबलेर पानी बगोस् त ! यस्तै एउटा रहस्योद्घाटनको कोसिस हो यो । भदौ २३ र २४ गते देश जल्दा कहाँ थिए हाम्रो जासुसी संयन्त्रका खम्बाहरु ? आउनोस्, त्यो दिनको भित्री कथा पढौं–

नेपालमा जेनजी आन्दोलन शुरु भएकै दिन नेतृत्व विकासका नाममा विभिन्न गैरसरकारी संगठनहरूमार्फत सूचना सङ्कलनसम्बन्धी चार दिने तालिम भन्दै निर्वाचन आयोगको मुख्यालय अघिल्तिर अवस्थित होटलमा अल्मल्माएको कारण गुप्तचरहरू विध्वंशको रिपोर्टिङमा फेल खाएको स्रोतको दाबी छ । जेनजी आन्दोलन भड्काउनमा अमेरिकन युथ काउन्सिलबाट तालिमप्राप्त पात्रहरूको सक्रिय भूमिका रहेको आरोप लागिरहेका बेला नेपालको एकमात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको स्थायी आउजाउ भइरहने जमलस्थित होटल एल्लो प्यागोडामा भेला गराइएको थियो ।

राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट होटल बुकिङदेखि सहभागी छनौटसम्मको संयोजन अनुसन्धान अधिकृत (उपत्यका अभियान) एसपी बासु सिग्देलले संयोजन गरेका थिए । प्रदर्शन र आन्दोलनजस्तो संवेदनशील कार्यक्रम घोषणा गरिएको समय र मितिको छेको पारेर आयोजित तालिमको समन्वयकर्ता सिग्देलले त्यसपछि पाँच वर्षे पर्यटक भिषा उपयोग गर्दै असोज १६ गते अर्थात अक्टोबर २ तारिखदेखि दुई हप्ते अमेरिका यात्रा गरिसकेका छन् । 

तालिमको पहिलो दिन अर्थात् भाद्र २३ गते उक्त होटलमा बिहान १० बजेदेखि नै जासुसहरुलाई सामेल गराइएको थियो । कार्यक्रम हाजिरी पुस्तिकाअनुसार तालिममा विभागका राजन शर्मा सापकोटा– मोरङ, सन्तोष ढुङ्गेल– पर्सा, कुलचन्द्र नेपाल– सप्तरी, दिगम्बर गिरी– वैदेशिक भेरिफिकेशन, दीपक केसी– एयरपोर्ट अध्यागमन, पुष्पनारायण दाहाल– आर्थिक प्रशासन र अरुण कार्की– संकलन शाखालगायत सहभागी थिए । ४ दिने तालिम भनिए पनि २४ गतेपछि भने आन्दोलनका कारण कार्यक्रम सुचारु हुन सकेको थिएन ।

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू