कांग्रेसका पूर्वमेयरद्वारा पोखरीमा भ्रष्टाचार
धनुषाको कमला नगरपालिकाका पूर्वमेयर रामउदगार गोइत भ्रष्टाचारमा तानिएका छन् । नगर प्रमुख हुँदा पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको आरोपमा उनीसहित दश जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
मुद्दा चलाइएकामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल संजिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, तत्कालिन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र इन्फ्रास्ट्रक्चर एस एण्ड बि बिल्डर्सका अध्यक्ष संतोषकुमार यादव छन् ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा नगरपालिकाको वडा नम्बर ३, स्थित लग्मा बजारनजिक पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्यकरणको योजना अघि बढाइएको थियो । जसको ठेक्का उनीहरुको मिलेमतोमा सबैभन्दा बढी कबोल रकम माग्ने इन्फ्रास्ट्रक्चरलाई दिइएको अख्तियारको ठहर छ ।
पदीय ओहोदा र हैसियतको दुरुपयोग गरी आर्थिक चलखेलमा त्यस्तो कार्य गरेकोले अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ । २०७४ को स्थानीय तह चुनावमा कमला नगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोइत निर्वाचित भएका थिए ।
टिप्पणीहरू