प्रहरीको पेस्तोल फेला पर्यो नागार्जुनमा

प्रहरीको पेस्तोल फेला पर्यो नागार्जुनमा

प्रहरीले पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटस्थित सिभिल होम नजिकै टेलर सञ्चालन गरेर बसेका ४१ वर्षीय मनोजकुमार सुन्दासलाई हतियारसहित पक्राउ गरिएको हो । 

उनले आफ्नो कोठामा हतियार लुकाएर राखेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । सो क्रममा उनको कोठामा खानतलासी गर्दा ‘एस–एन५५००९७७० टी–५४ नेपाल पुलिस’ लेखिएको एक थान पेस्तोल, पेस्तोलको म्याग्जिन एक थान र ३११२४ लेखिएको आठ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए । 

उनलाई ‘हातहतियार तथा खरखजानासम्बन्धी कसुर’ मा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको भट्टराईले जानकारी दिए । गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा प्रहरीको सयौं हतियार लुटिएको छ ।

टिप्पणीहरू