बासिरको अर्धसतकीय इनिंसमा विराटनगरको रोमाञ्चक जित
अलराउण्डर बासिर अहमदले शानदार अर्धसतकीय इनिंस खेलेपछि दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ । शुक्रबार बेलुकी सम्पन्न खेलमा कर्णाली याक्सलाई तीन विकेटले हराउँदै विराटनगरले प्रतियोगितामा चौथो जित निकालेको हो ।
जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । विराटनगरलाई जित दिलाउन बासिर अहमदले अर्धसतकीय पारी खेले । उनले ४३ बलमा ३ चौका र ३ छक्काको मद्दतमा नटआउट ६२ रन बनाए । यस्तै नारायण जोशीले २५, सहिल पटेलले १९ र साम हेजलेटले १६ रन बनाए ।
कर्णालीको लागि सोमपाल कामी र गुलसन झाले समान दुई/दुई विकेट लिँदा पवान सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । कर्णालीको लागि प्रियांक पंचलले जारी प्रतियोगितामा दोस्रो अर्धसतक पूरा गरेका हुन् । पंचलले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै विलियम बोसिस्टोले नटआउट ४८, गुलसन झाले २० र नाजुबुल्लाह जद्रानले १२ रन बनाए ।
विराटनगरको लागि मर्चान्ट डे लान्गा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
जितसँगै विराटनगर ४ खेलबाट ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको कर्णाली पाँचौ स्थानमा रहेक
आजै भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको थियो ।
अब भोली शनिबारपनि दुई खेल हुनेछ । भोलि हुने खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
टिप्पणीहरू