काँग्रेस महाधिवेशन : शंका र युवाको अवसर
नेपाली काँग्रेसको यहि मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्ग्याएको छ। दुई महिनाभन्दा बढीको आन्तरिक छलफलपछि पार्टीको ऐतिहासिक वडादेखि केन्द्रसम्मको महाधिवेशन पौष १६ गतेदेखि २८ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको छ ।
वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा–विश्वप्रकाश शर्माको पक्षले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित नेतृत्वमाथि दिइएको दबाबपछि बैठक पटक–पटक सारिन बाध्य भयो। अन्ततः नियमित महाधिवेशन गर्ने निर्णय गर्दै यसअघिको विवाद टुंगाइएको छ ।
महाधिवेशनबाट को पार्टी सभापतिमा विजयी हुन्छ? को–को पदाधिकारीमा आउँछन् ? केन्द्रीय समितिमा को–को छानिन्छन् ? त्यो फरक बहस हो। तर समयमै अधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले गरेको हस्ताक्षरको स्पष्ट प्रभाव देखियो। संस्थापन पक्ष महाधिवेशन गर्न आनाकानी गरिरहेको देखिँदा र अर्को पक्षले कुनै हालतमा महाधिवेशन नगर्न नदिने दृढता देखाउँदा पार्टी फुटको सम्भावना अन्तिम चरणसम्म पुगिसकेको थियो। तर पार्टी फुटबाट काँग्रेस जोगिन सफल भएको छ ।
फुटबाट जोगाउन सात भाई समूह, वरिष्ठ नेता डा. कोइराला, गगन–विश्व समूह तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान पुर्याउने नेता–कार्यकर्ता र शुभेच्छुक सबै धन्यवादका पात्र छन्। एक काँग्रेसका इमानदार कार्यकर्ताको नाताले व्यक्तिगत रूपमा पनि धन्यवाद भन्नैपर्छ। र सबैभन्दा बढी धन्यवादका पात्र सभापति शेरबहादुर देउवा नै हुन्।
महामन्त्री थापा, गुरुराज घिमिरेलगायत नेताहरूले नियमित महाधिवेशनमा धोका भए विशेष महाधिवेशनको प्रक्रिया स्थगित नभएको स्पष्ट गराइसकेका छन्। सभापति देउवा नियमित महाधिवेशन गराउने निर्णयमा पछि हटेका छैनन् । तर महाधिवेशन एक वर्ष सार्न उनको समूहका धेरै नेताहरूको ठूलो दबाब भने छ। जेनजी आन्दोलनपछि देउवा पार्टी बैठकमा नदेखिए पनि अहिले भइरहेका सबै गतिविधि र निर्णयहरू उनको सक्रियता र इच्छासँग नजिकबाट जोडिएका छन् भन्ने कुरा स्वीकार्नैपर्छ।
यतिखेर काँग्रेसका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा प्रचार–प्रसारमा लागिसकेका छन्। सञ्जाल रङ्गिएको दृश्यले नै काँग्रेसको महाधिवेशन सुरु भइसकेको संकेत दिन्छ।
सभापति देउवा नियमित महाधिवेशन गराउने निर्णयमा पछि हटेका छैनन् । तर महाधिवेशन एक वर्ष सार्न उनको समूहका धेरै नेताहरूको ठूलो दबाब भने छ।
५४ प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा महाधिवेशन रोक्ने कुनै कानुनी, व्यवहारिक वा नैतिक आधार थिएन। तर विशेष महाधिवेशन पार्टीभित्र गुट अझ बढाउने जोखिम थियो। नियमित महाधिवेशन गर्ने निर्णयले त्यो विवाद टुङ्गिएको छ। यो निर्णय ऐतिहासिक र पूर्ण रूपमा स्वागतयोग्य छ। सबै नेता–कार्यकर्ता तथा शुभचिन्तकले स्वागत गर्नैपर्छ।
जहाँसम्म गगन थापासहित नियमित महाधिवेशन समूहले संस्थापन पक्षबाट शङ्का गरेको विषय छ—शङ्का राजनीतिमा कल्पनाभन्दा धेरै पटक यथार्थ बनेका छन्। नेपाली काँग्रेसमा पनि बाहिरीभन्दा धेरै आन्तरिक धोका भएका उदाहरण प्रशस्त छन्। त्यही कारण सचेत गराउनु स्वाभाविक हो। तर अब महाधिवेशन कुनै हालतमा सार्न पाइँदैन, र महाधिवेशनबाट चुनिने नेतृत्वलाई नमान्ने विकल्प पनि रहँदैन—यही सबैभन्दा महत्वपूर्ण कुरा हो।
जेनजी आन्दोलनअघि र पछि अन्य पार्टी, व्यवसाय, जनजीवन मात्र होइन—काँग्रेसका नेताहरूको सोचमा पनि ठूलो परिवर्तन आएको छ। अब भिजनविहीन, स्वार्थी, पदलोलुपहरूले काँग्रेसमा नेतृत्व लिन सक्ने अवस्था छैन। भूकम्प वा नाकाबन्दीजस्ता घटनाजस्तै, नेताले मन पराए बिर्सने खालको घटना होइन जेनजी आन्दोलन। नेतामाथि आक्रमण, हातपात, मानिस मर्नु, सम्पत्ति नष्ट हुनु—यी कुनै कोणबाट पनि स्वीकार्य हुँदैनन्। तर यस आन्दोलनले ‘पद र पैसाका लागि राजनीति गर्ने’ सोच भएका धेरैलाई हतोत्साहित गर्ने बलियो हतियार बनेको भने नकार्न सकिँदैन।
अब केन्द्रदेखि प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडा र टोलका सम्पूर्ण नेता–कार्यकर्ता १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्छ। केन्द्रले नटुङ्ग्याएमा स्थानीय तहमा सक्रिय भएर क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउनुपर्ने हुन्छ। ‘महाधिवेशन हुँदैन कि’ भन्ने शङ्का एकरत्ती पनि राख्नु हुँदैन। माग सही थियो—पूरा भयो। अब माग गर्ने र पूरा गर्ने दुवैले व्यक्तिगत कुण्ठा छाडेर काँग्रेसलाई महाधिवेशनमय बनाउँदै बहुमत प्राप्त पार्टी बनाउन आजैदेखि जुट्नुपर्छ।
लोकतन्त्रमा नेतृत्वलाई जेनजी आन्दोलनकै म्यान्डेटले अनुमोदन गर्ने सबैभन्दा सही उपाय महाधिवेशन नै हो। यो प्रक्रियाभन्दा दायाँ–बायाँ सोच्नेहरूको राजनीतिक मात्र होइन, सामाजिक रूपमा पनि पराजय हुन सक्छ।
१५औँ महाधिवेशनमा ४०–५० वर्ष उमेरका ६० प्रतिशत युवाले केन्द्रीय समितिमा प्रवेश पाउनुपर्छ। जेनजी र जेन–वाईलाई पनि केही प्रतिशत स्थान दिन सकिने वातावरण बनाइनुपर्छ। काँग्रेसको महाधिवेशन आन्तरिक नेतृत्व चयन प्रक्रिया हो—तर स्थानीय, प्रदेश र संघीय तहमा पार्टीले बाह्य प्रतिस्पर्धा पनि गर्नुपर्छ। त्यसमा विशेष ध्यान दिनैपर्छ।
देश–विदेशमा रहेका सबै काँग्रेस नेता–कार्यकर्ता र शुभेच्छुकले अब काँग्रेसलाई सबल, सक्षम र असली लोकतान्त्रिक पार्टी बनाउन योगदान दिनुपर्ने बेला आएको छ। वडादेखि केन्द्र, प्रवासदेखि गैरआवाससम्म जहाँबाट बसेर पनि पार्टी बलियो बनाउने काम गर्न सकिन्छ। आम कार्यकर्तालाई काँग्रेस भएकोमा गर्व लाग्ने खालको पार्टी निर्माण गर्ने समय आएको छ।
‘महाधिवेशनको माग हामीले गरेका हौँ, पूरा गर्न बाध्य बनायौँ’ भन्ने घमण्ड वा ‘हामीले तत्कालका लागि सहमति गरिदियौँ, पछि फेरि उल्ट्याउँछौँ’ भन्ने मनोवृत्ति—यी दुवै पार्टीहितका सोच होइनन्। मध्यमार्गी महाधिवेशनको बाटो नै सही निर्णय हो। अब ‘महाधिवेशन हुँदैन कि’ भन्ने कल्पना पनि नगरी, नेता बन्ने दृढता र प्रतिबद्धतासहित अगाडि बढौँ।
(लेखक नेपाली काँग्रेसका नेता हुन्।)
टिप्पणीहरू