विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

साविक विजेता सुदूरपश्चिममा रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा पुगेको छ । मंगलबार बेलुकी सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटिएको हो । विराटनगरको लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै मर्चान्ट डी लान्गाले १५ र बासिर  अहमदले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमको लागि स्कट कुगेलिन, अविनाश बोहोरा र हर्मित सिंहले दुई/दुई विकेट लिँदा हेमन्त धामी र दीपेन्द्र सिंह एरीले एक/ एक विकेट लिए ।

यसअघि किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । विराटनगरको लागि विनोद भण्डारीले अर्धसतक बनाए । उनले ५२ बलमा ३ चौका र एक छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले २०/२० रन बनाउँदा हर्मित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाए ।

विराटनगरको लागि मर्चान्ट डी लान्गा र प्रतिष जिसीले समान दुई/दुई विकेट लिँदा सूर्य तामाङ र साम हेजलेटले एक/एक विकेट लिए ।

जितसँगै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुग्न सफल भएको हो । पराजित विराटनगरले बिहीबार फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । भोली हुने इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।

टिप्पणीहरू