प्रधानमन्त्री भेटेपछि रवि बयान दिन आयोगतिर

प्रधानमन्त्री भेटेपछि रवि बयान दिन आयोगतिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मानव अधिकार आयोगमा बयान दिएका छन् । 

जेनजी विद्रोह भनिएको भदौ २३ र २४ गतेको घटनामाथि छानविन गरिरहेको आयोगले उनीसँग आज ३ घण्टा बयान लिएको हो । जेनजी आन्दोलनको स्वामित्व लिन चाहेका रविले २४ गतेको विध्वंसको भने औपचारिकरूपमा जिम्मा लिएको सुनिएको छैन । 

सहकारी ठगी काण्डमा मुद्दा पुर्पक्षका लागि नक्खु कारगारमा रहेका उनलाई २४ गते विध्वंसकारीको एक समूहले जेलबाट भगाएको थियो । विजयउत्सवको शैलीमा कारबाट हात हल्लाउँदै झ्यालखानाबाट निकालिएका उनी चर्को आलोचनापछि चार रात घरमा सुतेर फेरि फर्किएका थिए । 

पछिल्लो पटक 'अग्रिम जमानत' को विशेष सुविधाअन्तर्गत साढे ३ करोड धरौटी तिरेर छुटेका रवि राजनीतिक गतिविधिमा निरन्तर सक्रिय छन् । पछिल्ला दिन नयाँ र वैकल्पिक शक्ति भनिएकाहरूको केन्द्र बनेका उनले विभिन्न पक्षीय भेटवार्तालाई थप बढाएको देखिन्छ । यसैक्रममा आज पनि उनी भेटघाटमा व्यस्त देखिए । 

आयोगमा बयान दिन जानुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग एक घण्टा गोप्य वार्ता गरेका रविले बिहान हात्तीगौडास्थिति आफ्नै निवासमा पार्टीका नेता शिशिर खनालसँग छलफल गरेका थिए । मध्यान्ह १२ बजेतिर  बालुवाटार छिरेका उनी दिउँसो १ बजे त्यहाँबाट निस्किए । 

त्यसपछि सोझै हरिहर भवनस्थित मानव अधिकार आयोगको कार्यालय पुगेका हुन् । करिब ३ घण्टा त्यहाँ बिताएका उनी साँझ निवास फर्किएको जानकारी पाइएको छ ।

टिप्पणीहरू