न्यायाधीशहरुलाई ‘खोजी–खोजी कुट्ने, मार्ने’धम्की आएको जानकारी

न्यायाधीशहरुलाई ‘खोजी–खोजी कुट्ने, मार्ने’धम्की आएको जानकारी

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायाधीशहरूलाई फैसला र आदेशका विषयमा कुटपिट तथा ज्यान मार्ने तहसम्मका धम्की आएको बताएका छन् । मुलुक यतिबेला अत्यन्तै तरल अवस्थामा पुगेको र परिस्थिति असहज बन्दै गएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतका एक दर्जनभन्दा बढी न्यायाधीश,मुख्य रजिस्ट्रार,रजिस्ट्रार तथा न्याय सेवा अधिकृत समाजका पदाधिकारीको उपस्थितिमा उक्त धारणा राखेका हुन् । 

पत्रकारहरूसँग कुरा गर्दै प्रधानन्यायाधीश राउतले भने, ‘यो बेला देशको न्यायपालिकालाई कमजोर बनाउने खेल भएको छ। न्याय सम्पादनको कामलाई जटिल बनाउने उद्देश्यले यस्तो गरिएको हो। ‘तिमी आदेश त गर,तिमी फैसला त गर, हामी तिमीलाई खोजी–खोजी कुट्छौं, खोजी–खोजी मार्छौं’ भन्ने तहको धम्की प्रवाह भइरहेको छ। अब राज्यको चौथो अंगले यस्तो विषाक्त वातावरण निस्तेज पार्न भूमिका खेल्नुपर्छ।’

अदालतका कमीकमजोरीको समीक्षा र आत्ममूल्यांकन भइरहेको पनि बताइएको छ ।  समाजमा अदालतविरुद्ध घृणा र द्वेष फैलाउने, काम गर्न नदिने तथा मिथ्या सूचना प्रवाह गर्दै न्यायपालिकालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको प्रधानन्यायाधीशको भनाइ छ । राउतका अनुसार कुनै अभियानको नाममा अदालतविरुद्ध श्रृङ्खलाबद्ध आक्रमण भइरहेको छ।

सहयोगको अपेक्षा गर्दै प्रधानन्यायाधीश राउतले थपेका छन्, ‘उहाँहरूले श्रृङ्खलाबद्ध रूपमा त्यस्ता मानिसहरूलाई संगठित बनाइरहनुभएको छ। यो ठट्टाको विषय होइन । अदालतविरुद्ध ख्यालठट्टा गर्दागर्दै स्थायी संस्थामाथि आक्रमण गर्ने अभ्यास बढ्दै गएको छ । अदालतभित्र पनि कमीकमजोरी होलान्,हामी आफ्नै कमजोरी खोजिरहेका छौं । नियमित समीक्षा र आत्ममूल्यांकन भइरहेको छ।’

उनले विगतमा त्रुटि भएको भए संवेदनशील,गम्भीर र जिम्मेवार ढंगले सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रहरी अनुसन्धानपछि सरकारी वकिलले मुद्दाको अभियोजन गर्ने र अनुसन्धान त्रुटिपूर्ण भएमा मुद्दा कमजोर हुने स्पष्ट पार्दै अदालतको पद्धति जनमानसमा राम्ररी बुझाउन नसकिएको हो कि भन्ने आशंका उनले उठाएका छन्  । 

पछिल्लो समय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरेर झुटा र भ्रामक सन्देश प्रवाह भइरहेको जानकारी दिँदै प्रधानन्यायाधीश राउतले अदालतभित्र व्यापक भ्रष्टाचार छ भन्ने सन्देश फैलाउने सामग्रीहरू तयार भइरहेको उल्लेख गरे । समाचार वा सूचना प्रवाहको नाममा अदालत र न्यायाधीशहरूप्रति घृणा फैलाउने काम भइरहेको,अस्वस्थ, अराजक र अभद्र टिप्पणीहरू बढिरहेको उनको भनाइ थियो। अदालतमा आउने मुद्दामा दुई पक्ष हुने र एक पक्षको दाबी जायज ठहर गर्दै निर्णय दिँदा हार्ने पक्षलाई संगठित गरेर अदालतविरुद्ध प्रहार गराउने प्रवृत्ति देखिएको बताए । यस्तो कुरा अदालत र न्यायाधीशको मात्र नभई समग्र राज्यकै चासोको विषय भएको उल्लेख गर्दै उनले राज्यको चौथो अंगले न्यायपालिकाको गम्भीरता र संवेदनशीलता बुझिदिन आग्रह गरे।

‘उपयुक्त वातावरणविना न्यायाधीशहरूले न्याय सम्पादन गर्न सक्दैनन् । जनमानसमा भ्रम फैलाउने र आतंकित बनाइरहने हो भने भोलि न्याय सम्पादनको काम झन् कष्टकर र दुरुह हुनेछ । यस्तो अवस्थामा अन्ततः मुलुकले नै दुःख पाउने अवस्था आउँछ,’ प्रधानन्यायाधीश राउतको भनाइ छ ।
 

टिप्पणीहरू