प्रधानमन्त्रीलाई खुट्टा नकमाउन सुझाव,साँझसम्म गुण्डुमा पत्र पुर्याउने तयारी

प्रधानमन्त्रीलाई खुट्टा नकमाउन सुझाव,साँझसम्म गुण्डुमा पत्र पुर्याउने तयारी

भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशबारे छानबिन गर्न गठित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई दह्रोसँग गोडा टेक्न सुझाएका छन् । छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की,सदस्य विज्ञानराज शर्मासहितले प्रधानमन्त्रीसँग हिजो दिउँसो सिंहदरबारमा गरेको छलफलमा विशेषगरी ‘नडराउन र गोडा नकमाउन’ भनेका हुन् । 

तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दुई दिन बयान लिएपछि एक मात्र बाँकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि आयोगमा बोलाउनेबारे छलफल गर्न जाँदा उनीहरुले त्यसो भनेको बताइन्छ । चुनावी माहौल बन्दै गएको अवस्थामा एमाले अध्यक्ष ओलीलाई  पत्र काटेर बोलाउँदा अवस्था खराब हुने हो कि भन्ने प्रधानमन्त्रीको चिन्तामिश्रित भनाइ थियो ।
 
प्रधानमन्त्रीले सकेसम्म ‘बीचको कुनै बाटो छ कि ? चुनावका लागि बन्न बन्न लागेको वातावरण नबिगार्न घुमाउरो पाराले अरु कुनै उपाय निकाल्न सकिन्छ कि भनेर कुरा राख्नुभएको" मा गुण्डुकै गौरीबहादुर कार्की चर्कै स्वरमा प्रस्तुत भएको स्रोत बताउँछ ।

राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।

प्रधानमन्त्रीको आग्रहमा अध्यक्ष कार्कीले भनेका थिए, ‘कानुन भनेको सबैलाई बराबरी लागु हुनुपर्छ । राज्य सँधै राज्य जस्तो हुनुपर्छ । राज्यको अनुभूति सबैलाई दिलाउनुपर्छ । पत्र काट्ने हो । आउँछन् वा आउँदैनन् त्यो सम्बन्धितको कुरा भयो ।’

अध्यक्षको कुरोमा जोड दिँदै अर्का सदस्यले भने, ‘आउँदैनन् भने राज्यले पनि लत्रिएर होइन, उभिएर देखिनुपर्छ सम्माननीयज्यू । राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ  उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।’

प्रधानमन्त्री कार्यालय स्रोतले सम्भवतः आज बेलुकीसम्म ओली निवास गुण्डुमा आयोगको पत्र पुग्ने बताएको छ ।

टिप्पणीहरू