यी जिल्लाको के गल्ती थियो र कटाइयो नाम ?
पार्टी र राज्य सत्ताका अवसरहरूमा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापालाई विशेष प्राथमिकता दिने चलनले नेकपा एमालेमा यसपटक पनि निरन्तरता पाएको छ ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ झापाका थुप्रै कमरेडले उम्मेदवार हुने अवसर पाएका हुन् । एमालेले पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अध्यक्षको जिल्लाबाट ९ जनाको प्रतिनिधित्व देखिन्छ।
यस्तो मौका पाउनेमा जनजाति क्लस्टरबाट अनिता सुब्बा,विद्यानन्द राजवंशी,खस-आर्यतर्फ नर्मदादेवी शिवाकोटी,मेनुका काफ्ले,लता प्रसाईं छन् । त्यस्तै,झापा ठेगाना भएकामा दलितबाट नीता घतानी,जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलामा बिना साह महतोको नाम बन्दसूचीमा समावेश छ ।
कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको झापा जिल्लालाई एमालेले आफ्नो आधार क्षेत्र मान्दै आएको छ । ०७९ को चुनावमा यहाँ उसले समानुपातिकतर्फ सबैभन्दा बढी १ लाख २७ हजार ७८० ल्याएको थियो । आगामी निर्वाचनमा पनि एमालेले यही अनुपातमा भोट ल्याउने अनुमान गर्ने हो भने अहिले समानुपातिक सूचीमा परेका एक जना बराबर १४ हजार मत हुन आउँछ । जबकि कूल मतदाता र निर्वाचित हुने ११० को अनुपात हेर्ने हो भने एक सांसद बराबर ९० हजारदेखि १ लाख १० हजारसम्म भोट ल्याउनुपर्ने हुन्छ ।
अध्यक्षको गृह जिल्लाबाट ९ जना पारेको एमालेले २१ जिल्लामा भने प्रतिनिधित्व शून्य गराएको छ ।
अध्यक्षको गृह जिल्लाबाट ९ जना पारेको एमालेले २१ जिल्लामा भने प्रतिनिधित्व शून्य गराएको छ । एमालेको तर्फबाट आयोगमा पेश भएको बन्दसूची हेर्दा ताप्लेजुङ,तेह्रथुम, ओखलढुंगा,रसुवा,सिन्धुपाल्चोक, दोलखा,मकवानपुर,गोरखा,मनाङ, बागलुङ,नवलपुर (नवलपरासी पूर्व), रूपन्देही,सल्यान,पश्चिम रूकुम,दैलेख, डोल्पा,जुम्ला,बाजुरा,डोटी,डडेल्धुरा, बैतडीबाट एक जना पनि छैनन् ।
प्रतिनिधित्व शून्य भएका २१ मध्ये १२ वटा जिल्लामा अघिल्लो चुनावमा एमालेले पहिलो मत पाएको थियो ।
अहिले प्रतिनिधित्व शून्य गराइएका २१ जिल्ला एमालेको प्रभाव क्षेत्र नै मानिन्छ । गत आम निर्वाचनमा यी जिल्लाबाट उसले कूल ५ लाख ५१ हजार ९३४ मत पाएको थियो । यो एमालेले जितेको कूल ३४ समानुपातिक सांसदमा ७ सांसद बराबरको योगदान हो ।
अर्को रोचक कुरा चाहिँ प्रतिनिधित्व शून्य भएका २१ मध्ये १२ वटा जिल्लामा अघिल्लो चुनावमा एमालेले पहिलो मत पाएको थियो ।
यी हुन् एमालेले अघिल्लो चुनावमा पहिलो समानुपातिक भोट ल्याएका जिल्ला
ताप्लेजुङ - १९ हजार ६०४
तेह्रथुम - १७ हजार २५८
ओखलढुंगा - २५ हजार २४५
सिन्धुपाल्चोक - ४६ हजार ६९
दोलखा - ३० हजार ९८६
मकवानपुर - ५० हजार ९२२
नवलपुर (नवलपरासी पूर्व) - ५१ हजार २४४
सल्यान - २२ हजार २५६
दैलेख - ३३ हजार ६३०
डोल्पा - ६ हजार २९४
जुम्ला - १० हजार ५४८
बैतडी - २९ हजार ४०
टिप्पणीहरू