शेखर पनि विशेष महाधिवेशनको पक्षमा !
नेपाली काँग्रेसको संस्थापनइतर खेमाका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । भृकुटीमण्डमा विशेष महाधिवेशन उद्घाटन हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले पार्टीलाई फुटबाट जोगाउन प्रयत्न गरिरहने पनि स्पष्ट पारे ।
विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ आइपुगेका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास कोइरालाले व्यक्त गरेका छन् । आफूले विगतमा कहिल्यै पनि पदको लोभ नगरेको र आगामी दिन पनि युवा पुस्तालाई अघि सार्न चाहेको उनको भनाइ छ ।
‘म यहाँ प्रष्ट भन्न चाहन्छु- मेरो निजी महत्त्वाकाङ्क्ष केही छैन, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन, यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ, सभापति र प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन’, कोइरालाले भनेका छन्, ‘एकातिर सभापतिको कार्यशैलीसँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोशिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्, मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ ।’
विधान कार्यान्वयन गर्दै गर्दा सम्भावित पार्टी विभाजनबारे सचेत हुन कोइरालाको सुझाव छ ।
‘तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ, पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ’, विशेष महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै थपेका छन्, ‘त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु ।’
यस्तो छ कोइरालाको सन्देशः
टिप्पणीहरू