सञ्जालमा कटाक्ष, होटलमा मेलमिलाप
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
दुई जनाले आज धरानको रमाइलो चोकस्थित एक होटलमासाढे २ घण्टा भेटवार्ता गरेका हुन् । भेटमा देशको राजनीतिक र आर्थिक संकट तथा त्यसको निकासबारे गम्भीर कुराकानी भएको बताइएको छ ।
आगामी निर्वाचनमा सहकार्य गर्नेबारे पनि अनौपचारिक सहमति जुटेको दावी गरिएको छ । तर, यी दुई आगामी प्रतिनिधिसभा निर्वाचनमा यौटै निर्वाचन क्षेत्रबाट लड्ने तयारीमा रहेको चर्चा छ ।
प्रलोपाले किरातीको नाम सुनसरी-१ बाट एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ भने साम्पाङ पनि सोही क्षेत्रबाट उठ्न लागेको बताइन्छ । यद्यपि, दुवैले औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
चुनावी सहकार्यको तयारीमा रहेको भनिएका यी दुईले विगतमा सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका थिए । किराती पर्यटनमन्त्री रहेको बेला धरानमा एयरपोर्ट बनाउन सहयोग नगरेको भन्दै साम्पाङले समाजिक सञ्जालमार्फत् गाली गरेका थिए ।

टिप्पणीहरू