पहिले ‘लिभिङ टुगेदर’, अहिले मारामार

पहिले ‘लिभिङ टुगेदर’, अहिले मारामार

एमाले सचिव तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले ‘रवि’को मुद्दा फिर्ता लिएको सम्बन्धमा बस्नेतले सामाजिक सञ्जालमा मनपरी लेख्न नसुहाउने बताएकी छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली र नेता बस्नेतले विरोध जनाएपछि उनले उक्त प्रतिक्रिया लेखेकी हुन् ।

बस्नेततर्फ संकेत गर्दै उनले ओलीको प्रधानमन्त्रीत्वकालमा बलात्कार, नृशंस हत्या, डकैतीजस्ता जघन्य अपराधका मुद्दाहरू पटक–पटक तामेलीमा हालिएको दावी गरेकी छन् । ‘एउटा निर्दोष छोरीको जीवन सधैँका लागि तहसनहस भएको कटु यथार्थलाई कसरी नजरअन्दाज गर्न सकिन्छ ?’ भन्ने शोभाको प्रश्न छ । 

‘न्याय दिनुपर्ने राज्य संयन्त्र नै राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गरेर अपराधीलाई संरक्षण गर्ने साधन बन्नु भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ?’, फेसबुकमा भोगटेको फोटो राख्दै उनले लेखेकी  छन्, ‘प्रधानमन्त्रीको प्रभाव प्रयोग गरेर न्यायिक प्रक्रियामाथि खेलबाड हुनु केवल गैरन्यायिक मात्र होइन, अमानवीय पनि हो ।’

यस्तो कृत्यले पीडितमाथि दोहोरो बलात्कार गर्ने उल्लेख गर्दै शोभा थप लेख्छिन्, ‘एक पटक अपराधीले, अर्को पटक राज्यले । न्यायको नाममा भइरहेको यो निर्लज्ज तमासा देखेर पनि मौन बस्नु स्वयं अपराध सरह हो ।’ 

एक समय बस्नेत र शोभा ‘लिभिङ टुगेदर’मा बसेको चर्चा थियो । तर, गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा–मामिलाको तहमा पुग्यो । सत्ताको आडमा अदालतलाई प्रयोग गरेर बस्नेतले आफूलाई अन्याय गरेको शोभाको जिकिर रहँदै आएको छ ।  

‘लाज लाग्नुपर्छ । अरुलाई एउटा औँलाले देखाउँदा पाँचवटा औलाले आफूलाई देखाइरहेको छ । पहिला आफ्नो बलात्कारको डाका चोरी अनुसन्धानको दायरामा त आएर देखा अनि प्रमाण के हो त्यतिबेला भनौंला’, चुनौती दिँदै उनले लेखेकी छन् ।

टिप्पणीहरू