चासो उस्तै,शंका पनि उस्तै
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका काँग्रेसको विभाजनपछि अझै बढेको छ । समानुपातिकतर्फ मनोनयन दर्ता भैसकेको र प्रत्यक्ष उम्मेदवारी दर्ता गर्ने समय केही दिन मात्र बाँकी रहेको अवस्थामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचनको अन्यौल बढिरहेका बेला आम मतदाता भने भोट हाल्न उत्साहित रहेको एक अध्ययनले देखाएको छ ।
सेन्टर फर पोलिसी सेन्टरले गरेको निर्वाचनसम्बन्धी पूर्वधारणा सर्वेक्षणले मतदानका लागि मतदाताहरू व्यग्र प्रतीक्षामा रहेको निचोड दिएको हो । निर्वाचनमा मतदाताको मनोभाव, प्राथमिकता र धारणालाई स्पष्ट उजागर गर्ने उध्देश्यकेन्द्रित उक्त अध्ययनको नतिजाअनुसार कूल उत्तरदाताको ९१ प्रतिशतले मतदान गर्ने इच्छा जाहेर गरेका छन् ।
संस्थाले एक साता लगाएर डिजिटल माध्यमबाट विभिन्न ३४ जिल्लाका लक्षित समूहलाई सर्वेक्षणमा सहभागी गराई निकालेको प्रतिवेदनमा अधिकांश उत्तरदाताले तोकिएकै समयमा निर्वाचन हुने विश्वास व्यक्त गरेको पनि उल्लेख छ । उनीहरूले निर्वाचन सन्चालन प्रक्रियाप्रति पनि भरोसा राखेका छन् ।
सर्वेक्षणमा सहभागी झण्डै ६० प्रतिशतले अहिलेको अवस्थामा पुराना दलहरूले सुधार ल्याउन सक्नेमा आशंका जनाएको पाइन्छ ।
तर, निर्वाचनको निस्पक्षतामाथि २० प्रतिशतले मात्र विश्वास गरेको सर्वेक्षणको रिपोर्टले देखाएको छ । ८० प्रतिशतले निष्पक्ष चुनाव हुनेमा शंका व्यक्त गर्नुले राज्य प्रणालीप्रति आम नागरिकमा रहेको चरम अविश्वासलाई दर्साउँछ, जुन लोकतन्त्रकै लागि चिन्ताजनक विषय हो ।
अध्ययन रिपोर्टले निर्वाचन र राष्ट्रिय राजनीतिबारे अहिले भैरहेका चर्चा र अनुमानभन्दा केही फरक तथ्य पनि उजागर गरेको छ । जस्तो,सामाजिक सञ्जाल र अधिकांश आमसञ्चार माध्यमले 'चिसो भनेकै कोकाकोला' भने झैँ 'राम्रो भनेकै नयाँ पार्टी' भन्ने जबर्जस्त भाष्य स्थापित गर्न खोजेको पाइन्छ । जबकि सर्वेक्षणले भने आम मतदाता नयाँ दलप्रति पनि ढुक्क नरहेको देखाएको छ ।
प्रतिवेदनअनुसार कूल उत्तरदाताको करिब २५ प्रतिशतले मात्र नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । जसको कारण नयाँ दलहरूको टिकाउपनप्रति उनीहरूको आशंका देखिन्छ । नयाँ दललाई रोज्ने सन्दर्भमा जेनजी पुस्ताको मत पनि फरक-फरक पाइएको छ ।
आगामी निर्वाचनमा जेनजी पुस्ताले निर्णायक भूमिका खेल्ने विश्वास ५० प्रतिशतभन्दा बढीले गरेका छन् । यसले पुस्तान्तरणसँगै राजनीतिक प्रवृत्तिमा सकारात्मक परिवर्तनको लक्षण देखाए पनि पुराना दल पूरै अलोकप्रिय छन् भन्ने आम बुझाइ पूर्ण सत्य नरहेको संकेत गरेको छ ।
आगामी निर्वाचनमा जेनजीको भूमिका कस्तो हुनसक्छ ? भनी सोधिएको प्रश्नमा ५० प्रतिशतले नकारात्मक विकल्प रोज्नुले पुराना दलहरू अहिले चर्चा गरेजस्तो कमजोर छैनन् भन्ने देखाउँछ । यद्यपि अर्को फरक प्रश्नमा भने उत्तरदाताको ठूलो हिस्साले पुराना दलप्रति भरोसा टुटेको जवाफ दिएका छन् ।
सर्वेक्षणमा सहभागी झण्डै ६० प्रतिशतले अहिलेको अवस्थामा पुराना दलहरूले सुधार ल्याउन सक्नेमा आशंका जनाएको पाइन्छ । उनीहरूले नयाँ पार्टी र वैकल्पिक शक्तिलाई पनि उपयुक्त विकल्प भने ठानेका छैनन् ।
त्यस्तै,नागरिकहरू राजनीतिप्रति चासो राख्दैनन् भन्ने बुझाइलाई पनि यो अध्ययनले खण्डित गरेको छ । सर्वेक्षणमा सहभागी ३३ प्रतिशतले पूर्ण र ३१ प्रतिशतले आंशिकरूपमा राजनीतिप्रति चासो रहेको जवाफ दिएका छन् ।
टिप्पणीहरू