ओली सरकारको उपहार ‘दम्भ, द्वन्द्व र भ्रष्टाचार’ : काँग्रेस प्रवक्ता

ओली सरकारको उपहार ‘दम्भ, द्वन्द्व र भ्रष्टाचार’ : काँग्रेस प्रवक्ता

हाल कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तत्कालीन संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको आज तीन वर्ष पूरा भएको छ । सोही प्रसंगलाई लिएर काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले तीन वर्षमा तीन वटा उपहार दिएको बताउनुभएको छ ।

शर्माले बिहान गर्नुभएको ट्वीटमा भनिएको छ, ‘नेकपाले देशलाई तीन वर्षमा दिएको तीन वटा उपहारः दम्भ,द्वन्द्व र भ्रष्टाचार ।’ उहाँले अगाडि लेख्नुभएको छ ‘शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन ।’ प्रधानमन्त्री ओलीले जनतालाई रंगिन सपना देखाए पनि उहाँको आफ्नै कारणले त्यो सपना चंगा चुँडिएझैँ भएको शर्माको आरोप छ ।

‘न बिर्सें तिमीलाई,न पाएँ तिमीलाई, विना अर्थ दिलमा सजाएँ तिमीलाई’ भन्ने नेपाली सुमधुर गीतको भाव उल्लेख गर्दै भनिएको छ ‘तीन वर्षअघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यही गीत छ । रंगीन सपनाहरूको हवाइ उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जो भएको छ ।’

यता,प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्षमा भए गरेका मुख्य कामहरूको फेहरिस्त आज दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

टिप्पणीहरू