५१ जिल्लाका २०९ ठाउँमा डढेलो

५१ जिल्लाका २०९ ठाउँमा डढेलो

गर्मी मौसम शुरु हुन थालेसँगै देशका वन जङ्गलहरुमा आगलागीका घटना बढिरहेका छन् । लामो समय पानी नपरेको र मानवीय लापरबाहीका कारण आगलागी बढेको बताइन्छ ।

लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरवाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

शनिबारमात्रै ५१ जिल्लाका विभिन्न २०९ ठाउँमा डढेलो लागेको र सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि तयारी थालेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उपकरणको अभावमा धेरै ठाउँमा लागेको आगो निभाउन समस्या हुने गरे तापनि अहिले देशका विभिन्न ४० ठाउँमा डढेलो नियन्त्रणका लागि उपकरण तयारी अवस्थामा राखिएको छ ।

‘यसपालि प्रि मनसुनमा मौसमविद्ले पानी पर्ने सम्भावना खासै नभएको बताएका छन् । जसका कारण आगलागी र डढेलोको जोखिम धेरै रहेको छ’, पोखरेलले भने, ‘आवश्यक जनशक्ति र पर्याप्त आधुनिक उपकरण नहुँदा डढेलो र आगो निभाउन समस्या भइरहेको छ ।’

यस्तै,प्रभावकारी ऐन कानून नहुनाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ । उनका अनुसार डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम भैरहेको छ ।

सरकारले ‘नेपालको वन हरियो धन’, ‘वन जोगाउँ पर्यावरण बचाऊँ’ जस्ता अभियानलाई अगाडि बढाए पनि सोही अनुसारको कार्यक्रम गर्न नसक्दा जंगल मासिने खतरा बढेको सरोकारवालाहरु बताउछन् ।

टिप्पणीहरू