नेहा कक्करको नाममा के हो चक्कर ?
आज बिहान साढे नौ बजे नेपाल वायुसेवाको उडानमार्फत् नयाँ दिल्लीबाट काठमाडौं उत्रिने भनिएका कलाकार मनिष श्रेष्ठको बारेमा सनसनीपूर्ण समाचार फैलाएको पाइएको छ । मध्ये दिनसम्म पनि उनी काठमाडौं उत्रिएका छैनन् ।
स्रोतका अनुसार साढे नौको नेपाल वायुसेवाको विमान मध्यान्ह १२ बजे काठमाडौं उत्रिएको थियो । तर त्यो उडान यात्रुवाहक नभई नयाँ दिल्लीमा मर्मत गरेर यता ल्याइएको जहाज हो ।
दिउँसो साढे २ बजे काठमाडौं उत्रिएको एअर इण्डियाको उडानमा समेत श्रेष्ठ नभएको बताइन्छ । साढे ३ बजेको आरएनएसीको नियमित उडानमा समेत त्यो नाम गरेको यात्रु नभएको बुझिएको छ ।
आज बिहान साढे ९ बजे बलिउडका चर्चित कलाकार नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेख्न सफल मनिष श्रेष्ठ काठमाडौं आउँदै गरेको समाचार संकलनको लागि सञ्चारकर्मीहरुलाई जरुरी निम्तो पठाइएको थियो ।
आवश्यक सम्पर्कको लागि ९८१८२०९८२६ नम्बर दिइएको थियो । तर,न फोन कसैले उठाउँछ, न नेहा कक्कर र टोनी कक्करसँग सहकार्य गरेर गिनिज बुकमा नाम लेखाएका भनिएका मनिष श्रेष्ठ नाम गरेका व्यक्ति नयाँ दिल्लीबाट आएको देखिन्छ । स्रोत भन्छ ‘यो सबै कक्करको नाममा रचिएको चक्कर हो ।’
टिप्पणीहरू