चर्चित लोकदोहोरी गायक र कलाकारहरु संक्रमित

चर्चित लोकदोहोरी गायक र कलाकारहरु संक्रमित

पहिलो लहरको कोरोना महामारीले थलिएका कलाकारहरू दोस्रो लहरको चपेटामा समेत पर्न थालेका छन् । महामारीबाट केही कलाकार संक्रमित भएका छन् । यसबीच लोक तथा दोहोरी विधाका चर्चित कलाकारहरू संक्रमणमा परेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ ।

कोरोना रोकथामको निम्ति लगाइएको निषेधाज्ञापछि मनोरञ्जनात्मक कार्यक्रमहरू ठप्प भएको छ । यसअघि वैकल्पिक रुपमा युट्युबलगायतका सामाजिक सञ्जालमार्फत मनोरञ्जन दिँदै आएका कलाकारहरू समेत संक्रमित भएको प्रतिष्ठानले जनाएको छ ।
दोस्रो लहरमा हालसम्म ५ जना लोक तथा दोहोरी गायक संक्रमित भएका छन् ।

“कोरोनाले पहिले मान्छेलाई गलाउने र फोक्सोमा आक्रमण गर्दो रहेछ,सबैजना सचेत रहनुहोला ।”

उनीहरूमा गीतकार तथा संगीतकार रामु खड्का,लोक तथा दोहारी गायक प्रकाश सपुत र उनका भाइ देवेन्द्र बब्बु,राजु ढकाल,दुर्गा विरही हुन् । क्वारेन्टिनमा बसे पनि हालसम्म लोक तथा दोहारी गायिकाहरूमा भने संक्रमण पुष्टि भएको छैन ।

संगीतकार खड्कालाई बैसाख १७ गते बेलुकाबाट सामान्य लक्षण देखिएपछि १८ गते गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनले आफूलाई रिपोर्ट आएकै दिन धेरै ज्वरो आएको र शरिर अत्यधिक दुखेको बताए ।

कोरोना संक्रमित उनी अहिले आइसोलेसनमा बसेका छन् । उनले भने ‘कोरोनाले पहिले मान्छेलाई गलाउने र फोक्सोमा आक्रमण गर्दो रहेछ,सबैजना सचेत रहनुहोला ।’ महामारी यसैगरी बढ्यो भने कलाकारहरूले आफ्नै कोठाबाट भएपनि मनोरञ्जन प्रदान गर्ने उनी बताउँछन् । खड्का राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका सचिव समेत हुन् ।

यस्तै,अर्का चर्चित गायक प्रकाश सपुत पनि एक हप्तादेखि संक्रमित छन् । कुराकानी गर्न खोज्दा सपुतले आफूलाई श्वास प्रश्वासमा समस्या रहेकाले तत्काल बोल्न नसक्ने जनाउ दिए ।

टिप्पणीहरू