जसपामा लफडा : उपेन्द्रको पत्रपछि फेरि महन्थको

जसपामा लफडा : उपेन्द्रको पत्रपछि फेरि महन्थको

फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा)मा आज पत्रयुद्ध चलेको छ । ओली सरकारमा जाने कि वैकल्पिक सरकार बनाउने भन्नेबाट शुरु भएको विवाद चर्किंदै जाँदा एकीकरणको एकवर्ष नपुग्दै संसद्को चौंथो शक्ति जसपा फुटको नजिक पुगेको हो ।

पार्टीको निर्णय विपरित अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन् कस्सिएपछि जसपामा अहिले एकले अर्को पक्षलाई स्पष्टीकरण सोधिरहेको छ ।

यसअघि अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित सो समूहका चार नेतालाई स्पष्टीकरण सोध्नुभएको थियो । त्यसको जवाफ नदिएको भन्दै यादवले आज बिहान पुन: २४ घण्टे स्पष्टीकरण पत्र पठाउनु भएको हो ।

यादवको पत्रलाई ‘काउन्टर’ दिँदै ठाकुरले फेरी अर्को स्पष्टिकरण पत्र पठाउनु भएको छ । ठाकुरले पनि तोकिएको समयमा स्पष्टीकरण नबुझाएको आरोप लगाएर फेरि स्पष्टीकरण दिन पत्र पठाउनुभएको हो ।

यादव र ठाकुर दुबैको पत्रमा २४ घण्टाभित्र जवाफ प्राप्त नभए पार्टीबाट निष्कासनसमेतको कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने सांसदहरुको संख्या ठाकुरसँग बढी देखिएको छ ।

सत्ताका लागि टुट, फुट र विभाजनको पर्यायजस्तै बनेका मधेसवादी दल फेरी विभाजनतर्फ उन्मुख भएपछि रास्ट्रिय राजनीति थप अन्योल र अस्थिरतातर्फ जाने चिन्ता व्यक्त हुन् थालेको छ ।

टिप्पणीहरू