सवारी पास विवादमा वडाध्यक्ष काका र भतिजीबीच जुहारी
चितवन,भरतपुर महानगरपालिका–१० को वडा कार्यालयमा हिजो काका- भतिजीबीच चलेको जुहारीको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडियोमा महानगर प्रवक्तासमेत रहेका वडाध्यक्ष अरुण पीडित भण्डारीलाई एउटी युवतीले धकेल्दै हातपात नै गरेजस्तो देखिन्छ । तथानाम बोलेको पनि सुनिन्छ ।
उपचारको निम्ति चितवनबाट काठमाण्डौँ जाने सवारी पास बनाउन वडा कार्यालय गएकी ती युवती नाताले वडाध्यक्षकी भतिजी रहेको भण्डारीले बताएका छन् । जनआस्थाले के भएको हो ? भनेर जिज्ञासा राख्दा भण्डारीले नियमविपरीत भए पनि सवारी पास दिलाउन खोज्दा भतिजीले आक्रमण गर्नुको कारण थाहा नभएको बताए ।
वडाध्यक्षले महानगरको बैठकमा जान लागेको बेला बीच बाटोमा रोक्दै प्रहरी र सञ्चारमाध्यमको रोहबरमा आफ्नो मानमर्दन गरिएको बताएका छन् । उनले एक वर्ष पुरानो कागजातको आधारमा भए पनि मानवीय दृष्टिकोणबाट सवारी पास दिलाउन खोजिएको तर उल्टै आफूमाथि प्रहार गर्नुको कारण थाहा नभएको बताए ।
चितवनका स्थानीय सञ्चारमाध्यमले भने युवतीको भनाई उल्लेख गर्दै ‘वडाध्यक्षले जथाभावी बोलेको,युवतीलाई चोरको सन्तान भन्दै हप्काएर सिफारिस नदिइएको’ औंल्याएका छन् ।
टिप्पणीहरू