राप्रपा छोडेका ५५ जनाले पाए काँग्रेसमा भाग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नेपाली कांग्रेसमा बिलय भएका ५५ जनाले महासमिति सदस्य पाएका छन् । १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा राप्रपा छोडेर आएका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहका ५५ जनालाई कांग्रेसले महासमिति सदस्य बनाएको हो ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम महासमिति सदस्यमा थापा समूहलाई समायोजन गरेको जनाएको छ । समायोजन हुनेमा अधिकांश थापाको गृहजिल्ला धनकुटाका छन् । त्यस्तै,मोरङ र सिन्धुपाल्चोकका पनि धेरै समेटिएका छन् । राप्रपामा केन्द्रीय सदस्य भएकादेखि प्रदेशसभा उम्मेदवारसम्म कांग्रेसको महासमिति सदस्य बनेका छन् ।
कांग्रेसको विधानमा केन्द्रीय सदस्यहरु स्वत: महाधिवेशन प्रतिनिधि हुने भए पनि अन्यले भने वडादेखि चुनाव जितेर आउनुपर्ने व्यवस्था छ । थापा समूहका १० जना केन्द्रीय सदस्य भएकाले बाँकी ४५ जना भने महाधिवेशन प्रतिनिधि बन्न पार्टीमा निर्वाचित भएर आउनुपर्ने हुन्छ । पार्टीमा पकड बलियो नभएकाले ४५ जनालाई महाधिवेशन प्रतिनिधि चुनिन कठिन हुने बताइन्छ ।
थापा समूहलाई कसरी पार्टीमा समायोजन गर्ने भन्नेमा यसअघि कांग्रेसमा बिबाद थियो । विभिन्न पार्टीबाट आएकालाई समायोजन गर्ने नाममा विधान विपरित क्रियाशील सदस्यता बाँडिएको भन्दै विवाद चुलिएको थियो । विवाद बढेपछि बिमलेन्द्र निधिको नेतृत्वमा कांग्रेसले समायोजन समिति गठन गरेको थियो । निधि नेतृत्वको समितिले थापा समूहका ५५ जनालाई महासमिति सदस्य दिएको हो ।
टिप्पणीहरू