कर्णेल सेवाबाट बर्खास्त

आफ्नै घनिष्ठ साथीकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेबापत जंगीअड्डाभित्र थुनिएका कर्णेल प्रेमकुमार थापा सेवाबाट बर्खास्त भएका छन् । कोर्ट अफ इन्क्वायरीबाट दोषी ठहरिएका उनलाई सैनिक अदालतले ‘भविष्यमा सरकारी नोकरीको निम्ति अयोग्य नठहरिने गरी’ अस्ति जागिरबाट निकालेको हो । यो फैसलासँगै डेढ महिनादेखि थुनिएका उनलाई श्रीमतीले हिरासतबाट बुझेर घर लगेकी छन् ।
बढुवा भएर कार्यभार सम्हाल्न जुम्ला जान नपाउँदै उनी समातिएका हुन् । सुरक्षा फौजभित्र अनुशासन उल्लंघनको मात्रा कति डरलाग्दो भने, हाल संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनार्थ विदेशमा कार्यरत एकजना प्रहरी अधिकृत हाकिमहरुलाई अश्लील गालीसहितको पत्र पठाएपछि कारबाहीमा पर्न लागेका छन् । ज्ञानबहादुर खत्री हो उनको नाम । असार १२ गते आफूसँगैका साथीहरु इन्स्पेक्टरमा बढुवा भएको असन्तुष्टिस्वरुप खत्रीले महानिरीक्षकलगायत बढुवा समितिका हाकिमविरुद्ध अश्लील शब्द प्रयोग गर्दै उजुरी पठाएका थिए । उक्त उजुरीको मागदाबी ठहर नहुने भन्दै त्यसलाई खारेज गरेर अनुशासनको कारवाहीस्वरुप खत्रीलाई सुडानबाट फर्काउन लागिएको छ । हाल उनी राष्ट्रसंघीय ड्युटीमा रहेको हुँदा सीधै कारबाही गर्न नमिल्ने भएकोले प्रक्रिया लम्बिएको हो । संभवतः विभागले आजभोलि नै निजलाई फर्काउन राष्ट्रसंघलाई पत्राचार गर्नेछ ।
यसबीच, न्यायपरिषद्मा पठाउन माओवादीले प्रधानमन्त्रीको कोटाबाट चण्डेश्वर श्रेष्ठ, रामनाथ मैनाली र पदम बैदिकमध्ये एक सर्वसम्मत पात्र चयन गर्न लागेको छ । एमालेले आफैँभित्रको विवादका कारण बेलैमा निर्णय गर्न नसक्दा त्यो ठाउँमा प्रधानमन्त्री केपी ओलीको राजीनामा आउनु एक दिनअघि रामप्रसाद श्रेष्ठको नाम पठाएको थियो । सुशील कोइरालाले पठाएको रामप्रसाद सिटौलाको नाम केपीले फिर्ता गरेजस्तै ओनसरी घर्तीले कैयन दिन लट्काएपछि प्रचण्डले पनि श्रेष्ठको नाम फिर्ता गरेका हुन् । अब न्यायपरिषद्मा कानुनमन्त्रीसहित प्रधानमन्त्रीको कोटाबाट जाने एकजना गरी माओवादीतर्फ दुई सदस्य हुनेछन् । उता, क्रान्तिकारी–प्रगतिशील कानुन व्यवसायी संघका संयोजक रमणकुमार श्रेष्ठले आफू महान्यायाधिवक्ता नियुक्त भइसक्दा पनि यताको पद नछाडेपछि एकीकरण प्रक्रियामा रामबहादुर थापा बादल समूहबाट सामेल भएका उमेशप्रसाद गौतमहरु असन्तुष्ट भएका छन् ।

टिप्पणीहरू