अर्थपरीक्षामा असफल अनुहार
– संकेत कोइराला
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा शूरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिनसक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच, अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउनुपर्ने प्रस्ताव गरे । अश्वत्थामाको प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंग जस्तो देखिन्थे । सबै बिदावारी भएपछि कर्णलाई अंगालो हाल्दै एकान्तमा लगेर दुर्योधनले भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौं । म त तिमै्र भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौं ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्, ‘अब म पाण्डवहरूलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सबै पाण्डवलाई म आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेजस्तो देखिए पनि शंकाको लाभ लिन चुक्दैनथे । उनीहरू सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्थे । यिनीहरूको सम्बन्ध नङ–मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई पनि प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो शृंखला हो, जसका पात्रले जितेर पनि राज्यभोगको सुअवसर पाएका थिएनन । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानबाट पोतिएको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डवहरू एक–एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण आफ्नो दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरू यति व्यथित भए कि जीवनको उत्तराद्र्ध उनीहरूका लागि अनन्त सुरुङ यात्रा सावित भयो । युद्धका वीरहरू किंकर्तव्यविमूढ बने । एकएक गर्दै परिवारका सदस्यको इहलीला उठेपछि तिनीहरूलाई भेट्न स्वर्ग पुगेका महाराज युधिष्ठिर दुर्योधन, दुशासन, शकुनीको पूmर्तिफार्ती देखेर जिल्ल पर्छन् । युद्धमा जिते स्वर्गको बास हुन्छ भन्ने उक्ति मिथ्याभैंm लाग्छ । उनी देवराज इन्द्रसँग असन्तुष्ट हुँदै भन्छन्, ‘अन्यायी, अत्याचारी, धूर्त, बदमास सबै यहाँ छन् । मेरा भाइहरू कतै देख्दिनँ । होइन, यो कस्तो नियम हो ?’ देवराजले युधिष्ठिरलाई थुम्थुम्याउँदै भन्छन्, ‘यो पृथ्वी नभएर स्वर्गलोक हो । यहाँका आफ्नै नीति–नियम हुन्छन् । पृथ्वीको नियम यहाँ लागू हुँदैन । फेरि दुर्योधनले लडाइँको बेला युद्धधर्मको पूरा पालना गरेका थिए । सत्य धर्म पालनकै लागि आफ्नो शरीरको पनि वास्ता गरेनन् । त्यसैले उनी केही समय स्वर्गवासका लागि हकदार छन् । तपाईंजस्ता सत्यवादीलाई एउटा लोकको झगडा अर्को लोकमा ल्याएर रिसइवी साँध्न शोभा दिँदैन ।’ इन्द्रको भनाइपछि चटक्कै स्वर्गलोक छोडी केही समय युधिष्ठिर नरकलोकको पाहुना भए ।
महाभारतका पात्रलाई जस्तै एमाओवादी नेतामा उत्कर्षको वैराग्य छाएको छ । बाबुराम अर्को गुठी खोलेर आपूm कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाऊँ दिनभरिको सिकार, खाऊँ कान्छाबाउको अनुहारजस्तै भएको छ । स्वयं प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ । पार्टीभित्रका तपसिल झमेलाबाट बच्न पनि प्रधानमन्त्री पद रक्षा कवच बन्दै आएको छ । माओवादका प्रणेता माओ त्सेतुङले जनताबाट सित्तै सियो पनि लिनु हुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । कांग्रेस–एमालेले सच्याउनु साटो नजिरका रूपमा यही प्रवृत्ति आत्मसात गरेका छन् । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त कम खर्च गर्थे । पुरानो कोट, खुइलिएको कमिज नफान्टुन्जेल लगाउँथे । कतिसम्म भने चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर, श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी चियाङ चिंगसँग चौथो घरजम गरे । चियाङको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन । कोरियासँगको युद्धमा आफ्नै छोरा सहादत गराउने माओको फलाम मुटु नेपालमा भने पग्लिएर प्रकाश पुञ्जमा परिणत भयो । जहान जोड्ने कला आपूmमा विकास नभए पनि छोरा प्रकाशले ह्याट्रिक गरेर प्रचण्डलाई जँुगामा ताउ लाउने अवसर दिएका छन् । सवै जनताले खाने चियामा चिनी नपुगेसम्म चिनी हालेको नखाने लेनिनलाई नेपालका कम्युनिस्टले कितावमा र कपाल कोराईमा पढे, व्यवहारमा अनुवाद गर्न सकेनन् ।
जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रुखबाट बनेको भन्दैमा पिर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । कम्बोडियामा कम्युनिस्टको यस्तो दबदबा थियो, जहाँ चस्मा लाएका मानिसलाई बुद्धिजीवी ठानेर मारियो । हिटलरको सन्कीपनले ५ करोड मानिस चेम्बरमा स्वाहा भए । यसको ठीकविपरीत अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेबापत प्रसिद्ध भए । देशको अखण्डता जोगाउने नाममा लाखौं अमेरिकीले ज्यान दिए । यतिबेला देश टुक्रन नदिने अभियानको अभियन्ता एमाओवादी बन्यो भने त्यस्ता जनशक्ति उसले स्वतः पाउँछ । बटुको जत्रो देशमा नाङ्लो आकारको चलखेल गर्नुको अर्थ छैन । देश सलादजस्तो सवैको अस्तित्व देखिने किसिमको हुनुपर्छ । अनि सुँपजस्तै सबै परिकार मिसिएर आएको सुस्वादिलो हुनुपर्छ । राजनीतिलाई सधैं तातो तावामा उफारेर भुंग्रोमा पार्ने काइदाका रूपमा बुझ्नु मनासिव होइन । नीतिहरूको राजा राजनीति मानिन्छ भने दानहरूमा महान् दान मतदान हो । चाणक्य भन्छन्, ‘जसको गुण आपूmलाई थाहा छैन, त्यस्ता मानिसको सेवा वुद्धिमानले गर्नु हुँदैन । किनभने यसो गर्नु भनेको बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।’
नेपाल एउटा विश्वको त्यस्तो नमुना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो पैmसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिस आफ्नो स्वधर्मभन्दा अलग पेसामा पारंगत छन् । सफल राजनेता आपूm साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पु¥याउन अहोरात्र खट्छन् । तर हामीकहाँ राजनीति कहिल्यै अवकाश लिनु नपर्ने जागिर भएको छ । एउटा छेपारोले आत्महत्या गरेछ । मर्नुअघि सुसाइड नोटमा लेखिएको थियो– ‘रंग फेर्नमा मैले नेपालका नेताहरूको मुकाविला गर्न सकिन ।’ संविधानलाई विश्वको उत्कृष्ट दस्तावेज भन्ने प्रतिस्पर्धामा छन् । मानौं यस विषयमा नबोले जागिर पच्दैन ।
देशमा भोकमरी लाग्छ । गफमा बाहेक आत्मनिर्भर नरहेका नेपालीले धोक्ने बिजुली पानीको कच्चा पदार्थको भरसमेत दक्षिणमै पर्नु परेको छ । योभन्दा चरम दुर्भाग्य के हुन्छ ?
हजुरबाका पालामा शुरु भएको विकासे योजना नातिका पालामा सकिँदैन । काम गर्ने एउटा सरकारी निकाय छ भने त्यसलाई काम गर्न नदिन अरू दर्जन सरकारी संयन्त्र नै तैनाथ छन् । नेता र कर्मचारी राष्ट्रिय पोसाक उस्तै लगाउँछन् तर परिणाममा तिनीहरू सधैं एक नदीको दुई किनार भएर बाँचेका छन् । एकथरी छन्, नीति, नियम र अख्तियारको हाउगुजी देखाएर कामबाट पन्छिन्छन् । अर्काथरी छन् अख्तियारलाई मावली, ससुरालीको साइनो लगाएर धमिलो खोलामा जाल हान्न तम्सन्छन् । तेस्रो खालका त झन् यस्ता छन् ,जो नेताहरूको चिना टिपन आफ्नो हातमा रहेको अभिमानमा फुलेका छन् । यस अवस्थामा राजहाँस बन्नुपर्ने राजनीतिबाजहरू दलालको घेरामा बाँधिएका छन् ।
त्यसबेला युधिष्ठिरलाई स्वर्ग जान आउन कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर बाक्लै स्वर्ग आउजाउ गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले पनि रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुनपनि हो, कुकुरको कान जाँच गर्ने कुरो पनि आएन । आखिर सत्ता, शक्ति उहिले न अहिले त्यसको मूलभूत सार उही नै हो । तर यो रवाफ धेरै समय टिकेन । विधिको विधान महाभारत युद्ध सकिएपछि पाण्डव र कौरवका सन्तानको अन्त्य हुादै गयो ।
राजा ज्ञानेन्द्रको जिउमा टाँसिएका सवै किर्नो अहिले प्रचण्ड, शेरबहादुर, केपी ओलीको दरबारमा सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको संगतै हुँदैन । सत्यचाहिँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश नेताहरू खसी बेच्ने हुन्थे । शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुत्ति तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । असी वर्षको बाउ र साठी वर्ष पुगिसकेको छोराबीच अंशको लफडा नमिलेपछि बाउले भन्छ– ‘थुइक्क तँ कति कुलंगार र नालायक रहिछस् आज बल्ल चिनें ।’ आफूले जन्माएको छोरालाई त साठी वर्षमा चिन्ने समाजमा हुर्किएका हामीले अरु कसैको ठेक्का लिएर बोल्नु सर्वथा व्यर्थ हो । सोले फिल्मलाई फिक्का पार्ने बाउछोराका यस्ता डाइलग नेपाली समाजको अझै पनि लोकप्रिय डाइलग हो भन्दा हुन्छ । बाँदरले हाँगा लच्काउने मात्र हो, रूख भाँच्ने होइन । यो तागत ऊसँग हुँदैन । समाज बिग्रन नागरिक बीचको सम्बन्ध पो बिग्रनु पर्छ त † थोरै त्यो सम्बन्ध नेताले तामो तुलसो छोएर गाँसिदिएको हो र ? नेता नामको पेपर टाइगरलाई साँच्चैको बाघ ठानेर तर्सनु आफ्नै मूर्खतासिवाय केही होइन । जो खुसी रहन चाहन्छ, उसलाई कसैले पनि दुःखी बनाउन सक्दैन । जो दुखी रहन चाहन्छ, उ सुखमा पनि दुःख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण सुंसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिपेर घुयँत्रो हान्छन् । अर्को सत्य के हो भने संसारका सवै परीक्षामा सफल भएको मानिस अर्थपरीक्षामा चिप्लिन्छ । सम्भवतः हाम्रो समस्या पनि यही हो ।
टिप्पणीहरू