खुश्बु घिमिरेको बयान : ज्वालासँगको २० बर्षे सम्बन्धमा यसरी लाग्यो पूर्णविराम
“सामाजिक अभियन्ता”का नाममा पछिल्लो समय ज्वाला संग्रौला चर्चामा छिन् । युवासंघमा आवद्ध आफ्नै साथी खुश्बु (नविता) घिमिरेलाई कुटपिट गरेर प्रहरी हिरासतमा पुगेकी संग्रौला यसअघि ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई मुख छाडेका कारण आलोचित बनेकी थिइन् ।
आफ्नै जाहेरीले हिरासतमा पुगेकी उनै ज्वालासँगको सम्बन्धबारे खुश्बुले सामाजिक सञ्जालमा लामो बयान लेखेकी छन् । कुनै समय एक-अर्कासँग छुट्टिएर बस्नै नसक्ने अवस्थामा पुगेको उनीहरुको सम्बन्ध बिग्रनुको कारण खुलासा गर्दै खुश्बुले ज्वालाकै कारण सम्बन्ध टुट्न पुगेको बताएकी हुन् । २० वर्षसम्म आत्मीय मित्रको रुपमा रहेको आफूहरुको सम्बन्ध ज्वालाले हातपात गरेपछि ब्रेक लागेको उनले भनेकी छन् ।
खुश्बुका अनुसार ज्वाला संग्रौलाको वास्तविक नाम टीका हो । संग्रौलाको घर झापाको बिराटपोखरा- ८ हो । ज्वालालाई चिनाउन खुश्बुले उनका दाजुहरु शान्तिराम लक्ष्मी,कृष्ण,दिपक तथा दिदी राधिका संग्रौला र साइँलो काका खगेन्द्र संग्रौलाको विवरणसमेत उतार्दै टीका कसरी जापानको राजधानी टोकियो पुगिन् ? सो को पनि प्रसङ्ग कोट्याएकी छन् ।
खुश्बु र ज्वालाको सम्बन्धको अंकुरण २० वर्षअगाडि झापाको बिर्तामोडमा आयोजित एक साहित्यिक कार्यक्रमबाट भएको रहेछ । उक्त कार्यक्रममा पहिलोपटक ज्वालासँग भेट भएको र त्यहिँबाट सम्बन्ध कसिन थालेको खुश्बुले बताएकी छन् । उनका अनुसार दुवै जना साहित्यको पारखी भएकाले मित्रता झाँगिदै गएको हो । आफूहरु राम्रो कविता लेख्ने हुँदा कवि गोष्ठीहरुमा भेट हुने गरेको र त्यहीँबाट मित्रता बढेको उनले बताएकी छन् ।
साहित्यिक कार्यक्रममा सीमित उनीहरुको भेटघाट खुश्बुको बसाइ सरेपछि बाक्लिएको रहेछ । आफू चुलाचुलीस्थित फुपुको घरमा बसेर पढ्न थालेपछि भेटघाट बाक्लिएको र एक अर्कासँग छुट्टिएर बस्नै नसक्ने अवस्थामा पुगेको खुश्बुले उल्लेख गरेकी छन् । सम्बन्ध प्रगाढ बन्दै जाँदा छुट्नै नसक्ने अवस्थामा पुगेपछि आपसी सल्लाहमा बिर्तामोडमा डेरा लिएर सँगै बसेको उनले खुलाइकी हुन् ।
करिब ८/९ महिनाको बिर्तामोड बसाइ खुश्बुको काठमाडौँ यात्राले छोट्ट्याएको खुश्बुको भनाइ छ । आफू काठमाडौ आउनुपर्ने भएकाले कोठा खाली गरेर छुट्टिएको उनले भनेकी छन् । त्यसपछि ज्वाला आफ्नै घर बिराटपोखरा फर्किएको र आफू काठमाडौ आएको खुश्बुको भनाइ छ । काठमाडौँमा ट्राभल एजेन्सी खोलेर एअर टिकेटिङको काम शुरु गरेकोे केही समयपछि चाबहिलमा डेरा लिएर बस्न थालेको बताउँदै उनले त्यसबीच ज्वालासंग नियमित सम्पर्कमा रहेको उल्लेख गरेकी छन् ।
त्यसपछि आफ्नै पहलमा ज्वालालाई काठमाडौँ ल्याएको खुश्बुको दाबी छ । ज्वालाले काम खोजिदिन आग्रह गरेको र सँगै काम खोज्ने क्रममा इमाडोल पिसपोइन्ट बोर्डिङ स्कुलमा होस्टेल टिचरको काम पाएको उनले खुलाएकी छन् । खुश्बुले ज्वालाको श्रीमान भनिएका हिमाल उपाध्यायसँगको भेट र उनीहरुको सम्बन्धबारे पनि खुलासा गरेकी छन् । ज्वाला र हिमालको भेट होस्टेलमा भएको र त्यसपछि दुवै जना इमाडोलमा कोठा लिएर सँगै बस्न थालेको उनले बताएकी छन् ।
जापान जान ज्वालाले हिमालसँग नक्कली सम्बन्ध जोडेको खुश्बुको दाबी छ । ज्वाला आफैँले हिमालसँग डिपेन्डेन्ट भिसामा जापान जान लागेको बताएको उल्लेख गर्दै त्यसबारे गाउँघरमा कसैलाई नभन्नु भनेको खुश्बुले बताएकी छन् । ज्वाला जापान उड्ने बेला आफू टाइफाइड भएर भएर ॐ हस्पिटलमा भर्ना भएकाले एयरपोर्ट जान नपाए पनि फोनबाटै शुभयात्रा भनेको उनले सुनाएकी छिन् ।
खुश्बुको भनाइअनुसार ज्वाला जापान पुगेपछि पनि उनीहरुको सम्बन्ध मित्रवत नै थियो । तर, पछिल्लो समय ज्वालाका गतिविधि र सामाजिक सञ्जालमा आएका अभिव्यक्ति मन नपरेको र म्यासेन्जरमा सम्झाउन थालेपछि दुश्मनी शुरु भएको खुश्बुले फेसबुकमा लेखेकी छन् ।
‘साथी,तपाईं मेरो बदनाम भएको रमिता हेर्ने ?, ‘तपाईं लेख्न सक्ने मान्छे किन मलाई सपोर्ट गर्नु हुन्न ?’, ‘यदि तपाईं मेरो साथी हो भने त्यो हेम थापा,गीता थापा, पवित्रा गौतम,झकेन्द्र खतिवडाका बारेमा लेखेर सामाजिक सन्जालमा हाल्नु त !’ भनेपछि आफू झस्किएको खुश्बुको भनाइ छ ।
ज्वालाको अराजकताका कारण आफूहरुको सम्बन्ध टुटेको ज्वालाको निष्कर्ष छ । ज्वालाले लेख्ने हरेक शब्दहरु नियालेर हेर्दा, बोलेका शब्दहरु सुन्दा पहिलेको भन्दा धेरै फरक पाएको र एउटा साथीको बचाउमा लागेर अरु धेरैको मन दुखाएर भावनासँग खेल्नु अपराध हुने खुश्बुको ठहर छ ।
अरुलाई चोट पुर्याउनु हुन्न भन्ने आफ्नो सामाजिक दायित्व रहेको ठानेर साथीको पक्षमा नलागेको परिणाम भोगिरहेको भन्दै खुश्बुले ज्वालासँगको २० वर्षे सम्बन्धलाई टुङ्गाएको बताएकी छन् ।
टिप्पणीहरू