झण्डै पद गुमेको

एमालेसँग मिलेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने एक जना माओवादी नेताले झण्डै मन्त्रीपद गुमाउनुपरेको छ । पार्टीभित्रकै केही असन्तुष्ट पक्ष र देश बाहिरका शक्तिलाई पनि नचिढ्याउनका निम्ति सम्भवतः प्रधानमन्त्रीले आफूलाई थाहै नदिई प्रस्ताव दर्ता गरेको भन्दै प्रभाकरको ‘सातो’ टिपेको हुन सक्छ । केही नेतासामु भएको भनाभनमा आफ्नो राजीनामा मागिएपछि ऊर्जामन्त्रीले ‘पार्टीकै हितमा यसो गरेको हुँ । पहिला पनि गरेको थिएँ । यो काममा पब्लिक सपोर्ट छ सक्नुहुन्छ भने मलाई बर्खास्त गर्नुस् ।’ भन्ने जवाफ दिएको बताइन्छ । सारा घटनाक्रमबारे अध्यक्षलाई जानकारी रहेको र अकस्मात दर्ता गरिएको हकमा केही संवादहीनता देखिएको हुन सक्ने बताउँदै प्रभाकरले – तपाईंले भेनेरै मैले यो सब गरेको हुँ । यसबारे महराजीलाई पनि जानकारी छ तर मलाई अराजक भन्दै किन कन्फ्युजन क्रिएट गर्दै हुनुहुन्छ ? भनेर प्रतिप्रश्न गरेका थिए । जवाफमा पूर्ववनमन्त्री अग्नि सापकोटाले अब जे हुनु भइहाल्यो । निरंकुश लोकमान र छापामार शैलीमा महाअभियोग लगाउने हाम्रा साथीले दुवैथरीलाई दण्डित गरी स्थितिलाई ब्यालेन्स गर्नुपर्छ भनेका थिए । शनिबारकै हेडक्वार्टर बैठकमा देउवासँगको वार्ताबारे ब्रिफिङ गर्दै प्रचण्डले भने– उनी पोजिटिभ छन् । एमालेको खेल हो कि प्रचण्डकै निर्णय हो भन्ने कन्फ्युजनमा देखिन्छन् । माओवादीको आधिकारिक निर्णय लिएर आउनुहोस् अनि सजिलो हुन्छ भनेका छन् । उनले यो पनि थपे, ‘पार्टीभित्रको अन्तरद्वन्द्वलाई पछि हल गर्दै जाउँला अहिलेचाहिँ कार्की प्रकरणलाई वर्गसंघर्षकै एक हिस्साका रूपमा लिएर जानु हितकर हुन्छ ।’ उनले पहिले दुई पटक हटाउने प्रस्ताव राख्दा पनि नमान्ने ओली अहिले अकस्मात हौसिनु एमालेको चुनाव जित्ने चाल हो समेत भनेका थिए ।

टिप्पणीहरू