गुम्यो गुम्यो मौका गुम्यो

कल्पना गरौं त गोवाको ब्रिक्स बैठकमा भाग लिन हिँडेका चिनियाँ राष्ट्रपतिले आउँदा वा जाँदामध्ये १ दिन बीच बाटो पारेर नेपालमा बिताएको भए के फरक पथ्र्यो होला ? काठमाडौंबाट उत्तिकै दूरीमा अवस्थित दिल्ली र ढाकाबीच अरु कुरामा नभए पनि सौहाद्र्र सम्बन्धको हिसावले स्थिति अलिक फरक छ । सि जिनपिङले बंगलादेश झरेर नेपाललाई चटक्कै छाडी भारततिर लाग्नुअघि शेख हसिना वाजेदको मुलुकमा २५ अर्ब डलर लगानीको घोषणा गरेका रहेछन् । नेपालमा पनि सहयोगको केही घोषणा हुन्थ्यो होला तर अहिले भए–गरिएकै सम्झौताको समेत पालना नभइरहेको स्थिति छ । अचेल बेइजिङ पुग्ने मनले खाएका हरेकजसो नेपाली नेताहरूसँगको कुराकानीमा चिनियाँ अधिकारीहरूले असन्तुष्टि पोख्ने गरेका छन्– ‘विकासमा सहयोग गर्छौं भनेको लिनै जान्दैनन् । शान्ति, स्थिरतामा सहयोग गर्न पनि दिँदैनन् । न आफैं मिलेर बस्छन् ।’ वाम एकता र राजनीतिक स्थिरताप्रति उनीहरूको जोड छ । वैशाखमा बिदा हुने प्रधानमन्त्रीको कार्यकालमै नेपाल आएर के सम्झौता गर्ने ? सम्झौता गरियो नै भने पनि त्यसको भविष्य के हुने ? मुखले आऊ, आऊ भन्छन् । पुरानो सम्झौता कार्यान्वयन गर्दैनन् । मूल कार्यभार संविधान कार्यान्वयन र चुनावतिर पनि ध्यान दिँदैनन् ।’ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपप्रमुख लिले त यतिसम्म सोधेका छन्, ‘किन तोडियो एमाले–माओवादी गठबन्धन ?’ उनले नेपालमा एकजना कम्युनिष्ट नेतासँग दशैं–तिहारबीच सवा ४ घण्टासम्म कुराकानी गरेका थिए ।

टिप्पणीहरू